९ असार, काठमाडौं । ११ चैतमा सरकारले घोषणा गरेको लकडाउनपछि हवाई यातायात बन्द भयो, पर्यटक सवारीका गाडी थन्किए, होटेलका कोठा बन्द भए, टिकेटिङ एजेन्सीमा ताला लागे । त्यसअगाडी नै अन्तराष्ट्रिय पर्यटकको बुकिङ रद्द भइसकेको थियो ।
अन्तर्राष्ट्रिय उडानका टिकट धमाधम रद्द गरिएका थिए । सोहीकारण पर्यटन इतिहासमै पहिलो पटक शून्य गतिविधिमा र्झन पुग्यो।
पर्यटन व्यवसायी सुमन पाण्डे सम्झन्छन्, ‘सन् २००१ को ट्वीनटावर आक्रमण, नेपालको सशस्त्र द्धन्द्ध र २०७२ सालको भूकम्पपछि पनि नेपालको पर्यटकीय गतिविधि अहिले जसरी ‘शून्य’मा झरेको थिएन ।
यसरी शून्यमा पुगेको पर्यटनलाई अब भने कुनै न कुनै रुपबाट अगाडी बढाउनु पर्छ भन्ने सोचमा सरकार र व्यवसायी पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी भन्छन्, ‘हामीले ठूलो क्षति बेहोरिसकेका छौं, अब सुरक्षाका सबै प्रवन्ध अपनाएर हामी अगाडि बढ्नै पर्छ ।’ त्यसका लागि निजी क्षेत्रलाई साथसाथमै लिएर सरकार अगाडि जाने उनको प्रतिवद्धता छ ।
लकडाउनपछि थलिएको पर्यटन क्षेत्रका अवयवलाई अगाडि बढाउने सन्दर्भमा नेपाल पर्यटन बोर्डले ‘सेफ्टी प्रोटोकल’ नै निर्माण गरेको छ । अब सबै व्यवसायी, ग्राहक तथा सरोकारवालाले सोही प्रोटोकलमा टेकेर गतिविधिहरु संचालन गर्नुपर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मी भन्छन्, ‘अब हामी लामो समय कुरेर मात्र बस्न सक्दैनौं, त्यो महसुस गरेरै अगाडि बढ्ने उपायहरु खोजी गरेका छौं ।’
बन्यो प्रोटोकल
नेपाल पर्यटन बोर्डले पहिलो पटक लकडाउनपछि कोरोना सँगसँगै व्यवसाय संचालनमा ल्याउनु परे अपनाउनुपर्ने उपाय समटेर सुरक्षा निर्देशिका जारी गरेको छ ।
अब पाहुनालाई गत फागुनमा जस्तै सेवा आगामी साउनमा मिल्ने छैन । सेवा प्रदायकले समेत अब साविकमा जस्तै गरी सेवाग्राहीसँग व्यवहार गर्न सक्ने छैन ।
त्यसकारण पर्यटन बोर्डका सीईओ रेग्मी भन्छन्, ‘अब हामी ‘न्यू नर्मल’ तरिकाबाट अगाडी जानुको विकल्प छैन ।
अब कसरी अगाडि बढ्छ पर्यटन ?
होटेल
कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र होटेलले अब आफ्नो कारणले कोरोना भाइरसको संक्रमण धेरै मानिसमा नफैलियोस् भन्नेमा अब सञ्चालक सचेत हुनुपर्नेछ । एक प्रकारकाले लकडाउन खुलेको छ ।
सरकारले पहिलो चरणमा क्वारेन्टिनका रुपमा प्रयोग गर्ने होटेललाई संचालनको अनुमति दिएको छ । सरकारले केन्द्रबाट गर्ने निर्णयसँगै अब स्थानीय प्रशासनसँग समेत होटेल संचालकले सरोकार राख्नुपर्नेछ ।
सार्वजनिक स्वास्थ्यका विषयमा स्थानीय सरकारहरुले दिने निर्देशन पालना गर्नुपर्ने दायित्व व्यवसायीको हुन्छ । अब होटेलमा छिर्दा सबै व्यक्तिको तापक्रम अनिवार्य मापन गर्नु पर्ने भएको छ ।
होटेलमा २५ जना भन्दा बढी जम्मा भएर कार्यक्रम गर्न पाइने छैन । प्रयोग भइसकेको कोठा कम्तिमा २४ घण्टा खाली राख्नु पर्नेछ ।
रेष्टुरेन्ट
पर्यटनमा होटेलसँगै अर्को महत्वपूर्ण क्षेत्र रेष्टुरेन्टबाट समेत कोरोना भाइरसको संक्रमण फैलन डर हुन्छ । सोहीकारण अहिले सरकारले रेष्टुरेन्टलाई आंशिक खुला गरेको छ । तर, त्यहाँ बसेर खाना खान पाइदैन ।
प्याकिङ खाना घरमा लगेर वा होम डेरिभरीका माध्यमबाट खाना मगाएर भने खान पाइने व्यवस्था गरिएको छ । तर, रेष्टुरेन्ट संचालकसमेत अब पोर्टोकलको दायरामा भने आउनै पर्छ ।
रेष्टुरेन्टले समेत अब पाहुनाको ज्वरो अनिवार्य नाप्नु पर्नेछ । कर्मचारीले कोरोनाबाट बच्न अपनाउनु पर्ने सेफ्टी किटको अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।
पर्यटकीय अफिस
पर्यटन व्यवसायीले महामारीबाट आफू, आफ्ना कर्मचारी र ग्राहकलाई सुरक्षित राख्ने उपायको अधिकतम प्रयोग गरी सेवा प्रवाह गर्नुपर्ने भएको छ ।
यसका लागि सम्भव छ भने कार्यालयमा अनिवार्य उपस्थितिलाई कम गर्न सकिनेछ । अब बुकिङहरु लिँदा हरेक पाहुनाको विस्तृत सूचना अनिवार्य राख्नुपर्ने भएको छ ।
उदाहरणका लागि अब व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, पछिल्लो ३० दिनको उसको यात्रा विवरणसहित हेरेर मात्र कुनै पनि पर्यटकीय गतिविधिमा बुकिङ लिनुपर्ने भएको छ ।
सम्भव छ भने सम्बन्धित मुलुकले दिएको निरोगिताको प्रमाणपत्र साथमै राख्नुपर्ने व्यवस्था गरिएको छ । पाहुनाको यात्रा बीमा भए-नभएको समेत हेर्नुपर्ने गरी प्रोटोकल बनेको छ ।
पर्यटन यातायात
सरकारले पर्यटन यातायातको माध्यता दिएका सबै यातायात यो निर्देशिकाको छातामुनी आएका छन् । यसमा हरियो नम्बर प्लेट राखेर संचालन हुने यातायात पर्छन् । होटेल, टूर अपरेटर र अन्य व्यवसायीका यातायातका साधन संचालकले पोर्टोकललाई पालना गर्नुपर्ने छ ।
अब यातायात व्यवसायीले यात्रु कम गनुपर्नेछ । कारमा चालकसहित अधिकतम तीन जनाले मात्र यात्रा गर्न पाउने छन् ।
टूर, ट्राभल र एडभेन्चर गतिविधि
अब समुहमा हुने शाहसिक तथा यात्रामा फरक फरक समुहलाई एकै स्थानमा राखेर गतिविधि संचालन गर्न पाइने छैन ।
उदाहरणका लागि र्याफ्टिङको बोटमा चढ्ने सबै पाहुना एउटै समूहको, सँगै यात्रामा गएको र एकै परिवारको हुनुपर्नेछ । यो नियम सबै प्रकारका शाहसिक पर्यटकीय गतिविधिमा लागु हुने भएको छ ।
हवाई यात्रा कसरी ?
अब हवाई यात्रा पनि पहिलो जस्तै सामान्य हुने छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को महामारीका बीच हवाई यात्रालाई सुरक्षित बनाउने गरी हवाई यात्रुका लागि निश्चित नियम तोकेको छ ।
तपाइँले ती नियमको पालना नगरे विमानस्थलबाटै फिर्ता समेत हुनुपर्नेछ । खासगरी विमानस्थल क्षेत्रबाट संक्रमण एक अर्कामा नसरोस भन्ने उद्देश्यले यस्तो नियमहरु बनाइएको हो । प्राधिकरणले आन्तरिक र वाहृय उडान दुबैलाई लक्षित गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ । पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थिती अनुसार संशोधन गर्दै जाने प्राधिकरणले उल्लेख गरेका छ । प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकारवालाले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको छ ।
तयार छन् व्यवसायी ?
व्यवसायीले कमाई खाने व्यापारबाट एकै रुपैयाँ पनि आम्दानी गर्न नपाएको तीन महिना पुगिसकेको छ । आगामी दिन यसैगरी लामो समय जान नसक्नेमा भने व्यवसायी निश्चित छन् ।
‘व्यवसायीले इमानदारीसाथ कठिन परिस्थितिको सामना गरेका हुन्,’ वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य भन्छन्, ‘अन्तराष्ट्रिय पाहुना तत्काल आउँदैनन्, हामीले त्यो आश पनि गर्नु हुँदैन, तर आन्तरिक रुपमा अब वातावरण सामान्य बनाउनु पर्छ ।’
यसका लागि राज्यको साथ र सहयोगको खाँचो भने निजी क्षेत्रलाई आवश्यक हुने उनको भनाइ छ ।
अर्का वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महत अब कोरोनासँग जुध्दै सामान्य जीवनमा र्फकनुपर्छ भन्ने सोचका साथ सुरक्षा निर्देशिका ल्याइएको बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी अब सुरक्षा निर्देशकालाई हरेक दिन कोभिडसँग जुध्ने सुरक्षात्मक रणनीति लिएर अगाडी बढ्नुको विकल्प नभएको बताउँछन् ।
अब हरेक क्षेत्रमा कुनै न कुनै प्रोटोकल अत्यावश्यक भएको भन्दै पर्यटनलाई समेत यसैगरी अगाडी बढाइने उनको भनाई छ । पर्यटनलाई निजी क्षेत्रको साथबीना पुनरुद्धार गर्न नसकिने भन्दै सोही अनुसार नीति तथा कार्यक्रम र बजेट आएको उनले बताए ।
उनका अनुसार छिट्टै संग्रहालयहरुका लागि समेत सुरक्षा निर्देशिका ल्याउने तयारी रहेको छ ।