सिन्धुपाल्चोकमा बाढीको कारण २ जनाको मृत्यु, १८ बेपत्ता

image
बिहीबार, आषाढ २५ २०७७

असार, २५काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

बाढीका कारण २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्‍याएको छ ।

स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका– ५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । गम्भीर घाइते भएकी निकेशकी पत्नी सविना बस्नेतलाई कैलाश हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका- ५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका -५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे-५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका– ५ जबमुका भीमबहादुर वाइबा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ । त्यस्तै मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएका डीएसपी काफ्लेले जानकारी दिए ।

भोटेकोशी गाउँपालिका– ५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातीनीहरु ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी पनि घाइते भएकी छन् । त्यहाँ एउटा डोजर र एउटा जिपमा क्षति भएको छ ।

बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । दुई जना गम्भीर घाइते छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्‍याएको छ ।

बाह्रबिसे नगरपालिका– ३ खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध भएको छ ।

त्यस्तै खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ । त्यहाँ १०÷११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ ।

त्यस्तै बाह्रबिसे नगरपालिका–८ जुरे नजिक भोटेकोशी नदीले १०० मिटर सडक कटान गरेको छ ।

सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ ।

भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले ठाउँ ठाउँमा सडक कटान गरेको छ । बाढीले ल्याएको माटोका थुप्रिएका कारण कारण अरनिको राजमार्ग अवरुद्ध भएको डीएसपी काफ्लेले जानकारी दिए ।