दुई अंकमा झर्‍यो नयाँ संक्रमितको संख्या, सक्रिय संक्रमितभन्दा निको हुने धेरै

image
शनिबार, आषाढ २७ २०७७

असार, २७ काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीको खतरा कायमै रहेका बेला शनिबार दुई सकारात्मक संकेत मिलेको छ । त्यो हो, नयाँ संक्रमितको संख्या दुई अंकमा झर्नु र सक्रिय संक्रमितभन्दा निको हुने धेरै हुनु ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डेढ महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको हो । माघ ९ मा पहिलो र चैत १० मा दोस्रो संक्रमित भेटिएको नेपालमा जेठ १३ सम्म दैनिक थपिएका नयाँ संक्रमितको संख्या २ अंकमा सिमित थियो ।

तर जेठ १४ गते पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितको संख्या १०० नाघ्यो । ३५८० नमुना परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

एकै दिन सबैभन्दा धेरै संक्रमित असार १९ मा भेटिए । त्यो दिन ४ हजार ४८३ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसयता निरन्तर घटेको छ । र, शनिबार आइपुग्दा यो घटेर ७० मा झरेको छ । २८ जिल्लामा संक्रमित थपिएका छन्, तर सबैभन्दा धेरै संक्रमित भेटिएको दाङ र सिन्धुपाल्चोकमा ५/५ जना छन् ।

जनस्वास्थ्य विज्ञहरुले भने दैनिक थपिने संक्रमितको संख्या घट्दैमा जोखिम टर्‍यो भन्न मिल्दैन । किनकी अहिलेसम्म भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गरिएको थियो । समुदाय स्तरमा व्यापक परीक्षण नै हुन सकेको छैन । समुदाय स्तरमा परीक्षण बढाउादा संक्रमितको संख्या फेरि बढ्न सक्ने उनीहरु बताउँछन् ।

सक्रिय संक्रमितभन्दा निको हुने धेरै

यस्तै शनिबार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितभन्दा निको हुनेहरुको संख्या पनि धेरै भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरहरुबाट ४३१ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म निको भएर डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

अब देशभरका आइसोलेसन सेन्टरहरुमा ८ हजार २३९ संक्रिय संक्रमित छन् ।