साउन, ३ इनरुवा । भारतसँग सीमा जोडिएको सुनसरीको घुस्की नाकामा तनाव बढ्न सक्ने देखिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।
रातिको समयमा सशस्त्र र तस्कर समूहबीच भएको झडपको क्रममा गोलि लागेका व्यक्तिका आफन्त र स्थानीय आन्दोलित बनेपछि सो क्षेत्रको अवस्था आज बिहानबाट नै तनावपूर्ण देखिएको छ ।पेटमा गोली लागेका स्थानीय घुस्की ७ का २० वर्षीय सवाद भनिने सहजद जट अन्सारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ । बोर्डरमा घर भएका घाइते जटका नेपाल तर्फका मात्र नभएर भारतीय भूमी तर्फ बसोबास गर्दै आएका आफन्त र स्थानीयवासी सशस्त्र प्रहरीविरुद्धको आन्दोलनमा उत्रिएका छन् ।
सडकमा टायर बालेर प्रर्दशन समेत गरेका उनीहरुले सुरक्षाकर्मीले जानीजानी गोली हानेको भन्दै कारबाहीको माग समेत गरिरहेका छन् । स्थानीयको आक्रोश र बोर्डरमा हुन सक्ने सम्भावित तनावको अवस्थालाई मध्यनजर गर्दै सो स्थानमा नेपाल प्रहरीसहित सशस्त्रको उपस्थिति बाक्लो बनाइएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिनुभयो ।
सम्भावित झडप हुन नदिन हरसम्भव प्रयास जारी रहेको एसपी ढकालले बताउनु भयो । आक्रोसित अवस्थामा रहेका जट समुदायलाई सम्झाउने प्रयास भइरहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनु भएको छ ।घटना बारे विस्तृत छानविन हुने बताउनु भएका अन्सारीले घाइतेका आफन्तलाई अवस्था बुझ्न अस्पताल पठाइएको बताउनु भयो । बोर्डर क्षेत्रमा रहेका स्थानीय पत्रकार नसिम अन्सारीका अनुसार सो क्षेत्रको अवस्था निकैनै तनावपूर्ण रहेको छ ।
घरेलु हतियारसहित स्थानीय सडकमा उत्रिएका छन् । एकातर्फ सुरक्षाकर्मी र अर्कोतर्फ आन्दोेलित पक्ष आम्ने साम्ने अवस्थामा बसेका छन् ।सुरक्षाकर्मीले संयमता अपनाई रहेको छ, भने जट समुदायसमेत केही शान्त देखिएको छ । अन्सारीका अनुसार गोली लागेका घाइतेको अवस्था बुझेर आफन्त फर्किएपछि मात्र त्यसपछि के हुने हो भन्ने विषय टुङगो लाग्न सक्छ । घाइतेको अवस्था जटिल भएको खण्डमा त्यसपछिको अवस्था यसै होला भनेर यकिन साथ अहिलेनै भन्न सक्ने अवस्था भने नरहेको पत्रकार अन्सारीको बुझाइ छ ।
गएराति भारतीय सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा बोर्डर ड्यूटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो। सो क्रममा एक सशस्त्र जवानको टाउकोमा चोट लागेको थियो ।सशस्त्रले सामान चेकजाँच गर्ने विषयलाई लिएर आफूहरुमाथि तस्कर समूहले एक्कासि आक्रमण गरी ढुंगामुढा गरेको बताउँदै आएको छ । ड्यूटीमा सीमित संख्यामा सशस्त्रको उपस्थितिका बीच १०–१२ जनाको समूहले आक्रमण गरेको ४ नम्बर गणले जनाएको छ ।
सो क्रममा हतियार खोसेर लैजाने प्रयत्न गरिदा लोड भएको बन्दुक पड्किएको उनको भनाइ छ । आन्दोलित पक्षले सशस्त्र प्रहरीले जानीजानी गोली हानेको बताउँदै गर्दा केहीले भने हातपात र कुटाकुटपछि घाइते सुरक्षाकर्मीलाई घिसारेर हतियार खोस्ने प्रयन्त गरिएपछि सुरक्षार्थ अर्का सशस्त्र प्रहरीले गोली चलाएको बताएका छन् ।