प्रहरीको कोठाबाट एक किलो सुन जस्तो देखिने धातु बरामद

image
शुक्रबार​, श्रावण १६ २०७७

साउन,१६ काठमाडौं । काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो ।बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरी उच्च स्रोतले  बतायो ।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् ।

दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समितिले जनाएको छ ।