कमलामाई नगरपालिका : स्यानिटरी प्याड खरिदमा विवाद, बजेट सकाउन मिलेमतोमा टेण्डर

image
आइतबार​, श्रावण ४ २०७७

 साउन , ४सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिकाभित्र अध्ययनरत छात्रा (किशोरी) हरुलाई सरकारले निःशुल्क उपलब्ध गराउने सेनेटरी प्याड खरिदमा विवाद देखिएको छ ।

स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ अनुसार स्थानीय तहमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समितिको संयोजक स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष रहने व्यवस्था छ । तर कमलामाई नगरपालिकाले स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समितिकी संयोजकलाई नै थाहै नदिई खरिद गरेपछि विवादमा परेको हो ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको मिलेमतोमा समितिको संयोजक तथा नगरकी उपप्रमुख मन्जु देवकोटालाई थाहै नदिई कमिसनको लागि हतारमा गुणस्तरहीन स्यानिटरी प्याड खरिद गरिएपछि उक्त विवाद बाहिर आएको हो ।

 

मिलेमतो हैन भने मलाई किन बाईपास गरियो ? मेयर खत्री र प्रमुख प्रशासकिय अधिकृत सुवेदीको मिलेमतोमा मलाई थाहै नदिई गुणस्तरीहन स्यानिटरी प्याड खरिद भएको उपप्रमुख मञ्जु देवकोटाले खुलसा गरिन् ।

स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति संयोजक मन्जु देवकोटालाई सामान खरिद गर्ने, गुणस्तर अनुगमन गर्ने र वितरण गर्ने तीन वटै बैठकमा थाहै दिईएको छैन । बैठकको अध्यक्षतामा समितिकी संयोजक तथा उपप्रमुख देवकोटाको भएपनी देबकोटाकै अनुपस्थिति रहेको पाइएको छ । नगर प्रमुख खत्री र प्रमुख प्रशासकिय अधिकृत सेवेदीको उपस्थितीमा सबै बैठक मेरै अध्यक्षतमा बसेको कागजात बनाएर प्याड खरिद देखि रकम भुक्तानी सम्मको प्रक्रिया पूरा गरेको पाइएपछि मात्र आफुलाई थाहा भएको उनको भनाई छ ।

समितिकै संयोजकलाई बाईपास गरेर सेफ्टी हाइजिङ प्रा.लि मण्डलाहाउस माइतिघर काठमाडाैँ मार्फत कोटेशनमा ५ लाखको र सोनी वि केअर सर्भिस प्रा.लि. जनकपुर मार्फत टेण्डरमा २७ लाखको दुईपटक स्यानिटरी प्याड खरिद गरिएपनि गुणस्तरमा समेत प्रश्न उठेको उनको भनाई छ ।

विनियोजन ऐन, २०७६ को दफा ९ को उपदफा (१) बमोजिम महिनावारी भएका बेला छात्राले विद्यालय छाड्ने समस्या समाधान गर्न र गुणस्तरीय शिक्षाका लागि स्यानिटरी प्याड वितरण र व्यवस्थापनसम्वन्धी कार्यविधि २०७६ लागू भएको हो ।

सोही कार्यविधि अनुसार कोटेशन र टेण्डर मार्फत गरी दुईपटक नगरले स्यानिटरी प्याड खरिद गरेको छ । प्रदेश सरकारले ससर्त अनुदान अन्तरगत उपलब्ध गराएको ४७ रुपैयाँको बजेटबाट प्याड खरिद गरिएपनि कुनै पनि प्रकृयामा आफूलाई थाहा नभएको देवकोटाको दावी छ । ‘तर ठेकेदारलाई रकम भुक्तानी दिन असार २६ गते सबै निर्णयमा हस्ताक्षर गर्न मेरो चेम्बरमा नगर शिक्षा संयोजक शंकरराज लुईटेलले फाईल ल्याउँदा म आफै अचम्ममा परे । मैले सबै प्रकृया हेर्दा नितीगत भ्रष्टाचार भएको पाएपछि त्यो सबै फाईल मैले नै नियन्त्रणमा लिएर छानविनको माग गरेकी हुँ,’ उनले भनिन् ।

यि सबै त्रुटीपूर्ण प्रकृयाका बारेमा मेगर खत्रीलाई जानकारी गराउँदा उनले समेत कुनै सुनुवाई नगरेको बरु सबै बैठकमा उपस्थिती भए बापत ३ हजार ८ सय २५ रुपैयाँ भत्ता बुझेको भर्पाई समेत फेला पारेको देबकोटाको गुनासो छ ।

संयोजक देवकोटाका अनुसार स्यानिटरी प्याड खरिद प्रकरणका घटनाहरु :

घटना १ : नगरपालिकाले देबकोटाको अध्यक्षतामा गत आर्थिक वर्ष २०७६/७७ का लागि गत फागुन ४ गते सेनेटरी प्याड खरिद गर्ने बैठक गरेको छ । तर, त्यहाँ नगर प्रमुख खत्री र प्रमुख प्रशासकिय अधिकृत सुवेदीको उपस्थिती भएपनि संयोजक देबकोटाको उपस्थिती छैन् । उक्त निर्णय अनुसार सफ्टी हइजेन प्रालि मण्डलाहाउस माइतिघर काठमाण्डौंले कोटेशन मार्फत ४ लाख ९२ हजार ३ सय १२ रुपैयाँमा ७ हजार ६ सय ९२ पिस स्यानिटरी प्याड खरिद गरेको छ ।

उक्त निर्णय थाहै नपाएकी देबकोटाकै संयोजकत्वमा पुनः चैत्र ३ गते बैठक बसी खरिद गरिएको प्याडको गुणस्तरता अनुगमन गर्ने निर्णय र समितिकी संयोजक देबकोटाकै संयोजकत्वको नाममा तिन सदस्य समितिले २०७६ चैत्र ९ गतेको मितिमा किर्ते अगुमन प्रतिबेदन तयार पारिएको छ । अनुगमन कर्ताहरुमा संयोजक देबकोटा, सदस्य सचिव शंकरराज लुईटेल र समितिकी सदस्य धनमायाँ राईको नाम भएपनि राईले मात्र हस्ताक्षर गरेकी छिन । तर, त्यहाँपनि देबकोटाको उपस्थिती छैन् भने खत्री र सुवेदी सहित लेखा अधिकृत टेकेन्द्र कार्कीको समेत उपस्थिती रहेको छ ।

घटना २ : कोटेशनमा स्यानिटरी प्याड खरिद गरेको केही महिनामै पुनः समितिको निर्णय गरेर ३७ लाख रुपैयाँको प्याड खरिद गर्ने सूचना जारी भयो । उक्त निर्णय अनुसार परेको बोलपत्र फर्म मध्ये सोनि वि केयर सर्भिस प्राली, जनकपुर को बोलप्रत्र स्विकृत गर्नेगरी असार २ गते अर्को सूचना जारी भयो ।

यो सूचना प्रकाशित हुँदापनि देबकोटाकै अध्यक्षतामा समितिको बैठक बसेपनि उनको उपस्थिती छैन् । तर, त्यहाँपनि समिति बाहेक मेयर खत्री, प्रमुख प्रशासकिय अधिकृत सुवेदी र लेखा अधिकृत कार्कीको उपस्थिती छ । उक्त निर्णय अनुसार ठेकेदार कम्पनीले २२ लाख ४४ हजार ८ सय ७२ रुपैयाँमा ठेक्का कबोल गरी असारको तेस्रो साता स्यानिटरी प्याड उपलब्ध गराएको छ ।

घटना ३ : असार २ गतेको स्विकृत सूचना अनुसार सोनि वि केयर सर्भिस प्रा.ली., जनकपुरले खरिद गरेको ३० लाख ५६ हजार ९ सय २३ पिस स्यानिटरी प्याड सबै गुणस्तरीय भएको भन्दै वितरण तथा अनुगमन समितिकी संयोजक देबकोटाकै संयोजकत्वको नाममा असार २४ गतेको मितिमा किर्ते अगुमन तथा वितरण निर्णय गरिएको छ । उक्त अनुगमनमा समेत आफुलाई कुनै जानकारी नभएको र प्रतिवेदन समेत नबनाएको देबकोटाको भनाई छ । संयोजक देवकोटाको नाममा सबै सामान विद्यालयमा पुगेको, सामान गुणस्तरीय रहेको किर्ते अनुमगन प्रतिवेदन बनेको पाइएको छ ।

घटना ४ : बोलपत्र मार्फत खरिद गरिएका स्यानिटरी प्याडहरु संयोजक देबकोटाको अनुगमन प्रतिबेदनलाई टेकेर असार २६ गते संबन्धित विद्यालयहरुलाई वितरण गर्ने भन्दै निर्णय गरिएको छ । उक्त निर्णय बारेमा समेत कुनै जानकारी नभएको देबकोटाको भनाई छ । ‘तर, ठेकेदारलाई भुक्तानी दिनु पर्ने भएपछि असार २६ गतेमात्र आफुलाई समितिको संयोजकको हैसियतले सबै माईन्युटमा एकै पटक हस्ताक्षर गर्न मात्र ल्याइएको हो,’ उनले भनिन् । त्यति मात्र होइन, उपप्रमुख र केही कर्मचारीबाहेक नगर प्रमुख खत्री, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, लेखा अधिकृत कार्की लगायतले भत्ता समेत बुझेको भर्पाई गरिएको छ ।

नगरपालकाका उपप्रमुख देवकाेटाले स्यानिटरी प्याड खरिदमा मिलेमतो भएको भन्दै न्यायसंगत छानबिनको माग समेत गरेपछि नगर प्रमुख खत्रीले भने त्यस घटनामा आफ्नो कुनै संलग्नता नभएको दावी गरे । उनले सबै प्रकृया खरिद नियमावलीअनुसार समितिले गरेको दावी गरेका छन् । स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समितिले खरिदका लागी खरिद समितिलाई सिफारिस गर्नु भर्ने भए पनि आफ्नो बचाउका लागि उनले खरिदका लागी टेण्डर खरिद समितिले गर्ने र देवकोटा संयोजकत्व समितिले अनुगमन र व्यवस्थापन मात्र गरी यस कुरालाई बाहिर ल्याउन नहुने बताए ।