आर्थिक चलखेलमा नगरले जग्गा खरिद गरेको भन्दै धुनिबेँसीका स्थानीय आन्दोलित

image
सोमबार, आषाढ २९ २०७७

असार, २९धादिङ्ग।  धादिङ्गको धुनिबेँसी नगरपालिकाले मापदण्ड विपरित आर्थिक चलखेलमा जग्गा खरिद गरेको भन्दै स्थानीयले विरोध गरेका छन्। आईतवार सयौंको संख्यामा गएका स्थानीयले ५ हजार हस्ताक्षरसहित विरोधपत्र धुनिबेँसी नगरपालिकाका उपप्रमुख निरु खरेललाई बुझाएका हुन् ।

धुनिबेँसी नगरपालिकाले जग्गा खरिदको क्रममा सार्वजनिक सुचना समेत टाँस नगरी स्थानीयलाई गुपचुप राखी खरिद गरेको विरोध पत्रमा उल्लेख गरेको छ । धुनिबेँसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले ठुला व्यापारीसँग मिलेमतोमा राज्यको ठुलो आर्थिक रकम हिनामिना समेत गरेको उल्लेख छ । नगरले जुगेडी केन्द्र भन्दै मच्छिन्द्रनाथ सामुदायिक वनको खोल्सा संगै जोडेको कपुरबासे भन्ने स्थानमा जग्गा लिएको समेत उल्लेख छ ।

 

सर्वदलीय बैठकले जुगेडी केन्द्र तोके पनि ईलाका नं. १० अर्थात् साविकको नौबिसे, जीवनपुर, छत्रेदेउरालीको केन्द्र खानिखोला रहेको थियो । सोही स्थानमा नगरपालिका कार्यालय रहने समेत बताएको थियो । त्यसको स्थान परिवर्तन गर्नका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले स्थान परिवर्तन गर्ने वा नगर्ने सुचना जारी गरे पनि राजपत्रमा परिवर्तन नभएको समेत उल्लेख छ ।

मोटो रकमको चलखेल हुने भएपछि ठुला व्यापारीको जग्गा अर्थात् ग्याप नेपाल प्रा.लि र सि.जि.प्रिन्ट एण्ड प्याकेजिङ्ग प्रा.लि.संग मिलेमतोमा साविकको नौबिसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२५२ को ३ रोपनी क्षेत्रफल र साविककै नौविसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२४९ को ५ रोपनी क्षेत्रफल जग्गा प्रतिरोपनी २० लाख ६० हजारमा खरिद गरेको हो ।

 

जुन खरिद गरेको जग्गा नगरपालिकाको हुनुपर्ने मापदण्ड समेत पुग्दैन । नगरपालिका हुनको लागि वस्तीसँगै हुनुपर्ने सडक सञ्जालसँग जोडिनु पर्ने राजमार्गबाट ५ सय मिटर भित्र हुनु पर्ने बालबालिका, अपाङ्ग र वृद्ध वृद्धालाई समेत सहज रुपमा आवतजावत गर्न सक्ने हुनुपर्छ । तर भौतिक पुर्वधारविना सीमित व्याक्तिहरुको फाईदाको लागि नगरले जग्गा खरिद गरेको विराेध-पत्रमा उल्लेख छ ।