आँखाको उपचार गर्न काठमाडौं आउने तयारीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

image
बुधबार, श्रावण १४ २०७७

साउन,१४ काठमाडौं । धादिङमा आँखाको उपचार गर्न काठमाडौं आउने तयारीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।आँखाको उपचार गराउन काठमाडौं आउनुपर्ने भएपछि कोरोना संक्रमण परीक्षण गराएइका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव रानाले बताए ।

‘निलकण्ठका ४७ वर्षीय पुरुषले काठमाडौंमा आँखाको अप्रेसन गराउन जानुपर्ने भन्दै स्वाब संकलन गराउनु भएको थियो । उहाँको रिपोर्ट पनि पोजेटिभ आएको छ । उहाँको परिवार र सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको छ’ उनले टेलिफोनमा भने ।

मंगलबार धादिङको नीलकण्ठ नगरपालिकाका ५, सिद्धलेक गाउँपालिका र खनियाबास गाउँपालिकाका एक/एक जना गरी ७ जनामा कोरोना संक्रमण भएको छ ।

जनस्वास्थ्य निरीक्षक शिव रानाका अनुसार नीलकण्ठका बाँकी ४ संक्रमितमा एक जना होम क्वारेन्टिनमा बसेका र ३ जना क्वारेन्टिनमा बसेकाहरु हुन् ।यसैगरी सिद्धलेक–४ का ३२ वर्षीय पुरुष र खनियाबास–२ का २३ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

सिद्धलेकका पुरुष दुबईबाट आई नागेश्वरी आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका सिद्धलेक गाउँपालिकाका सिनियर अहेब रामप्रसाद सिलवालले जानकारी दिए ।संक्रमण पुष्टि भएकाहरुलाई निलकण्ठ नगरपालिका–३ मा रहेको वन डिभिजन कार्यालयको भवनमा बनाइएको आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।