असार,२२ डोटी । जोरायल गाउँपालिकाले जेठ १९ गते क्वारेन्टिनमा बसेका नौ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक प्रयोगशालामा पठायो । १० दिनपछि सात जनाको रिपोर्ट पोजेटिभ आयो । उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राखेपछि थप एक साता होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइयो । बाँकी तीन जनाको त्यसबेलासम्म पनि रिपोर्ट आएन ।
लक्षण पनि केही नदेखिएको र लामो समयसम्म क्वारेन्टिनमा बसेकाले उनीहरुलाई पनि घर पठाइयो । तर उनीहरुको रिपोर्ट आइतबारसम्म पनि आएको छैन ।
शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका २३ जनाको स्वाब जेठ २८ गते संकलन गरी २९ गते प्रदेश प्रयोगशालामा पठाइयो । उनीहरुमध्ये १५ जनाको झण्डै एक सातामा रिपोर्ट आयो । उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछिको चौथो दिनमा थप तीन जनाको नेगेटिभ रिपोर्ट आयो । तर बाँकी पाँच जनाको रिपोर्ट अहिलेसम्म पनि आएको छैन ।
आदर्श गाउँपालिकाले असार २ गते पठाएको ३१ जनाको स्वाबको रिपोर्टको अहिलेसम्म अत्तोपत्तो छैन । स्वाब संकलन गरिएका व्यक्तिहरुमा कुनै लक्षण नदेखिएपछि सबैलाई घर पठाइसकिएको छ, तर उनीहरु संक्रमित थिए वा थिएनन् भन्ने न स्वाब संकलन गर्नेलाई जानकारी छ, न स्वाव संकलन गरिएका व्यक्तिहरुलाई ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार असार २ गतेअघि पठाएका ५२ नमुनाको रिपोर्ट अझै आएको छैन । स्वास्थ्य प्रमुख रमेश मलासी भन्छन्, ‘हामीले त सबै स्वाब धनगढी पठाउने हो । त्यहाँबाट केही नमुनाहरु काठमाडौं पनि लगिएको रहेछ । तर केही नमुनाको रिपोर्ट अझै आएको छैन ।’
लामो समयसम्म पनि रिपोर्ट नआएपछि स्वाब संकलन गरेको १४ दिनपछि थप सात दिन घरमै क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाउने गरिएको छ । स्वास्थ्य प्रमुख मलासी भन्छन्, ‘लामो समयसम्म रिपोर्ट नआएपछि के गरांैं भनेर हामीलाई सोध्नुहुन्छ । लक्षण नभए होम क्वारेन्टिनमा बस्ने गरी पठाउनुस् भन्ने गरेका छौं ।’
कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ७५६ जनाको स्वाब संकलन गरिएकोमा चार सय ४५ जनाको नतिजा आउन बाँकी छ । प्राप्त दुई हजार तीन सय ११ रिपोर्टमध्ये पाँच सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वाब हराएको अनुमान
झण्डै एक महिना कट्दा पनि रिपोर्ट नआएपछि स्वाब हराएको त होइन भन्ने प्रश्न उठ्न थालेको छ । ‘धनगढी प्रयोगशालामा फोन गर्दा पनि छैन भन्छन्, सम्पर्कमा भएका काठमाडौंका साथीहरुलाई पनि सोधेँ, उहाँहरुले पनि पत्ता लाउन सक्नु भएन,’ आदर्श गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर खड्का भन्छन्, ‘लामो समयसम्म रिपोर्ट नआउँदा हराएकै अनुमान गर्न सकिन्छ।’
भारतबाट आएर २२ दिन क्वारेन्टिनमा बस्दा पनि रिपोर्ट नआएपछि घर गएका एक युवकले पनि स्वाब हराएको हुनसक्ने आशंका गरे । उनी भन्छन् ‘हाम्रो नमुना हराइसक्यो, अब सबैको नतिजा नेगेटिभ भनेर पठाउँछन् ।’ त्यही कारण स्वाब संकलन गरेको धेरै समयपछि सबैको रिपोर्ट नेगेटिभ आएको उनको तर्क छ ।
यस्तै आशय व्यक्त गर्छन् जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द विष्ट पनि । भन्छन्, ‘रिपोर्टबारे जिल्लामा सोध्दा प्रयोगशालामा सोध्न भन्छन्, प्रयोगशालामा सोध्यो थाहा भएन भन्छन्, यस्तै अलमल छ ।’ रिपोर्ट आउन ढिलो हुँदा क्वारेन्टिनमा राखिएकाहरुलाई सम्झाउन हम्मेहम्मे भइरहेको विष्टको भनाइ छ ।
शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश शाह पनि रिपोर्ट हराएकै अनुमान गर्छन् । ‘पछि पठाएकाहरुको रिपोर्ट आइसक्यो, अघि पठाएकाहरुको किन आउँदैन भनेर प्रश्न गर्छन्,’ शाहले अनलाइनखबरसँग भने, ‘सँगै पठाएको नमुनाको पनि कसैको रिपोर्ट आउँछ, कसैको लामो समयसम्म पनि आउँदैन ।’
रिपोर्ट आउन ढिलो हुने भएपछि भारतबाट आएकाहरु क्वारेन्टिनमा बस्नसमेत गाह्रो मान्ने गरेका छन् ।
के भन्छन् प्रयोगशालाका अधिकारीहरु ?
सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाले भने त्यहाँ आएका कुनै पनि नमुना नहराएको दाबी गरेको छ ।
धेरै नमुना संकलन भएको र प्रयोगशाला एउटै मात्र भएका कारण ढिलो भएको हुन सक्ने प्रयोगशाला प्रमुख रामप्रसाद ओझाले बताए । ‘नमुना हराएको भन्ने हुँदैन, जिल्लाबाट पठाएको भए प्रयोगशालामै हुन्छ । हामीले प्रत्येक जिल्लाको रिपोर्ट भिडाउने काम गरिरहेका छौं, दुई–तीन दिनमै सबै पत्ता लाग्छ,’ उनले भने ।
प्रत्येक जिल्लाको छुट्टाछुट्टै कम्पाइल भएपछि किन ढिलो भयो थाहा हुने उनले बताए । छिटो परीक्षणका लागि केही नमुना काठमाडौं पठाएको हुँदा उतै रोकिएको हुनसक्ने भन्दै उनले भने, ‘जिल्लाले स्वाब पठाएको हुन्छ, भिटिएम किटमा संकेत लेखेको हुन्छ तर त्यसको विवरण आइसकेको हुँदैन, त्यस्तो रिपोर्ट कसको हो भनेर पठाउने ? त्यस्ता नमुनाहरु पनि पेण्डिङ्ग बसेका हुन सक्छन् ।’
नमुना हराएपछि रिपोर्ट नेगेटिभ आयो भनेको हुनसक्ने आशंका गर्नु आपत्तिजनक भएको ओझाले बताए । ‘कोरोना जस्तो संवेदनशील विषयमा यस्तो लापरवाही कसैले गर्ला र !’ उनले भने, ‘हामी संवेदनशील छौं, हामीले कोरोनाको महामारीलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रयास गरिरहेका छौं । हचुवाको भरमा पोजेटिभ वा नेगेटिभ भनिने होइन, ल्याब रिपोर्टका आधारमा भनिने हो।’