साउन,२१ बुटवल । कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।
यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिए ।यसैगरी कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एकजना महिला र एकजना पुरुष छन् ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँचै जनामा कुनै पनि लक्षण भने नदेखिएको फोकल पर्सन थापाले बताए । उनीहरु सबै अहिले होम क्वारेन्टिनमा छन् । उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।संक्रमण पुष्टि भएपछि नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालय बन्द गराई कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको कार्यालयले जनाएको छ ।