वीरको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना संक्रमण

image
बिहीबार, श्रावण २९ २०७७

साउन, २९ काठमाडौं। वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बुधबार गरिएको परीक्षणको क्रममा ती नर्समा कोरोना संक्रमण देखिएको अस्पताल निर्देशक डा. केदार सेन्चुरीले बताए ।मंगलबारसम्म इमरजेन्सीमा कार्यरत ती नर्सका पतिमा संक्रमण देखिएपछि बुधबार प्राइमरी कन्ट्याक्टको रुपमा नर्सको परीक्षण गरिएको थियो ।

निर्देशक डा. सेच्नुरीले भने, ‘खासमा उहाँ (नर्स) को श्रीमानमा संक्रमण देखिएको रहेछ । त्यसपछि शंका लागेर उहाँको पनि परीक्षण गर्यौँ संक्रमण पुष्टि भयो । अहिले सुन्दैछु उहाँका दुई जना छोराछोरी रहेछन् उनीहरुमा पनि कोरोना संक्रमण भएको पाइएको छ।’आकस्मिक कक्षको नर्समा संक्रमण भएपनि अहिलेसम्म सेवा सुचारु रहेको बताएको छ ।

‘हामीले सरसफाईमा विशेष ध्यान दिएकै छौँ । हिजोसम्म इमरजेन्सी चलिहाल्यो । उहाँ अस्तीदेखि आउनु भएको छैन। त्यसैले अहिले बन्द गरेका छैनौँ । तर क्लोज कन्ट्याक्टमा रहेका अरु स्टाफहरुलाई क्वारेन्टाइनमा पठाउने र पीसीआर परीक्षण गर्ने काम थालेका छौँ,’ डा. सेन्चुरीले भने ।