साउन, २२ काठमाडौ । कुनैबेला ग्रामीण भेगमा सञ्चारको भरपर्दो साधन बनेको थियो, कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) फोन । मोबाइल फोन र सिमकार्ड किन्न नसक्नेहरु गाउँगाउँ पुगेको व्यवसायिक प्रयोजनमा सीडीएमए फोनमा निर्भर थिए ।
अब भने यो प्रविधिलाई निरन्तरता नदिने निष्कर्षमा नेपाल टेलिकम पुगेको छ । टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी अबको एक वर्षभित्र सीडीएमए प्रविधिलाई ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन (जीएसएम)ले विस्थापित गर्ने योजना बनेको बताउँछन् ।
अब सीडीएमए फोनहरुलाई जीएसएम प्रविधिमा ढालिनेछ । त्यसका लागि टेलिकमले करिब ५०० वटा टावरमा प्रविधि रुपान्तरणको काम गरिरहेको छ । ‘प्रविधिमा आएको परिवर्तनका कारण सीडीएमएलाई निरन्तरता दिन नसकिने अवस्था आएको हो,’ अधिकारी भन्छन्, ‘यो प्रविधि रुचाउनेहरुलाई पनि हामी निरास पार्दैनौं ।’
नेपालको ग्रामीण भेगमा दूरसञ्चार सेवा पु¥याउन सीडीएमएको ठूलो योगदान छ । अहिले प्रविधिले साथ नदिए पनि सीडीएमएको विगत ‘चम्किलो’ रहेको टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद आर्यालका अनुसार सिडीएमए प्रविधिमा सेवा थालेको यूटीएलले पनि अहिले सेवा बन्द गर्नुपरेको छ ।नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धि आचार्य ग्रामीण क्षेत्रको सञ्चारमा सीडीएमए प्रविधिले क्रान्ति गरेको बताउँछन्
सीडीएमएको त्यो क्रेज
टेलिकमले सन् २००५÷००६ तिर सीडीएमए प्रविधिको परीक्षण सुरुआत गर्दा धेरैजसो गाउँघरमा टेलिफोन प्रविधि पुगिसकेकै थिएन । सानो परियोजनाका रुपमा सुरु भएको सीडीएमए प्रविधिमा टेलिकमले लगानी बढाएपछि २०११ यता यो सेवा व्यापक र लोकप्रिय बनेको थियो ।
सीडीएमए सेवामा टेलिफोनजस्तै ठूलो सेट वा मोबाइलजस्तै डिभाइसबाट कुरा गर्न सकिने विकल्पहरु थिए । सुरुमा फिक्स्ड लाइन (बेसिक टेलिफोन)मा अनुमति लिएको टेलिकमले पछि सीडीएमएमा लिमिटेड मोबिलिटीमा पनि सेवा थालेको थियो ।
त्यतिबेला ल्यान्डलाइन फोन नपुगेका स्थानका चियादेखि किराना पसलहरुसम्म सीडीएमए फोन राखियो । त्यसले ग्रामीण क्षेत्रमा व्यवसायिक सेवा दियो । मिनेटका आधार पैसा उठाएर सीडीएमएबाट कमाइ गर्नेहरुको संख्या ठूलो थियो ।
ग्रामीण भेगका सरकारी कार्यालय, सहकारी, क्लव तथा संघसंस्थामा सीडीएमए फोनको विकल्प पनि थिएन । ग्रामीण भेगमा ताररहित फोन पनि चल्न सक्छन् भन्ने ज्ञान सीडीएमएले नै फैलाएको थियो ।नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धि आचार्य ग्रामीण क्षेत्रको सञ्चारमा सीडीएमए प्रविधिले क्रान्ति गरेको बताउँछन् ।
हुनपनि, त्यो बेला विदेश वा नेपालकै शहरहरुमा रहेका प्रियजनसँग केही मिनेट कुरा गर्न घन्टौं हिँडेर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । ‘त्यस्तो बेला गाउँमै एउटा सीडीएमए पुग्नु भनेको बडा गजबको कुरा थियो,’ आचार्य भन्छन्, ‘गाउँघरमा विकासको चेतना फैलाउन पनि सीडीएमएको भूमिका महत्त्वपूर्ण रह्यो ।’
विकट ग्रामीण क्षेत्रमा व्यक्तिगत तथा संस्थागत सूचना र सन्देश आदान–प्रदान गर्न सीडीएमएले ठूलो सहजता ल्याएको उनी सम्झन्छन् ।
नेपाल टेलिकमको सीडीएमए फोनका प्रयोगकर्ता साढे १७ लाख पुग्नुले पनि यसको महत्व र लोकप्रियता देखाउँछन् । त्यतिबेला सीडीएमए प्रयोगकर्ता सबै ‘डेडिकेटेड’ थिए । अहिलेजस्तो नम्बर लिएर प्रयोग नगर्ने जमाना नै थिएन, त्यो ।
सीडीएमए प्रविधिको फोन केही महँगो पनि थियो । जसले किन्थे, उसले मजाले चलाउँथे । गाउँहरुमा धेरैले अरुलाई सेवा बेच्न पनि यो फोन किनेर चलाएका थिए ।समयक्रममा आएका नयाँ–नयाँ प्रविधिले सीडीएमएलाई छायामा पार्दै लैजानु स्वभाविकै थियो । अहिले सीडीएमए प्रयोगकर्ताको संख्या ९ लाखमा झरेको छ । टेलिकम पनि यसलाई ‘फेजआउट’ गर्ने निधोमा पुगेको छ ।
कसरी भयो सेवा विस्तार ?
२०१० मा टेलिकमले ताररहित टेलिफोन सेवा विस्तार गर्ने योजना बनाएपछि शहरका लागि जीएसएम र ग्रामीण क्षेत्रका लागि सीडीएमए प्रविधि रोजियो ।
टेलिकमका पूर्वप्रवन्ध निर्देशक आचार्यका अनुसार शहरी क्षेत्रमा फोनको चाप हुने भएकाले जीएसएमको विकल्प थिएन । शहरमा फोनको घनत्व पनि बढी हुने र जीएसएमका बीटीएस टावरले सानो–सानो क्षेत्र कभरेज गर्ने भएकाले शहरमा जीएसएम रोजिएको थियो ।टावर नेटवर्क कभरेजका हिसाबले भने सीडीएमए प्रभावकारी हुन्थ्यो । सीडीएमएको एउटा टावरले नै १०–१२ किलोमिटरको क्षेत्रमा राम्रो कभरेज दिन्थ्यो । ग्रामीण क्षेत्रमा फोनको चाप कम हुने र नेटवर्क कभरेज पनि राम्रो हुने भएकाले सीडीएमए प्रविधि विस्तार गरिएको थियो ।
‘हामीले सीडीएमए विस्तार गर्दा अब त जीएसएमको युग भनिँदै थियो, तर देशको भौगोलिक अवस्थालगायतका कारण त्यतिबेला जीएसएम गाउँ–गाउँसम्म पु¥याउनु चुनौतीपूर्ण थियो,’ आचार्य भन्छन्, ‘त्यसैले पनि हामीले गाउँ–गाउँमा सीडीएमएमार्फत सेवा दिन सक्यौं ।’पहाड र कुनाकन्दरामा सेवा दिन सीडीएमए प्रभावकारी भयो । जीएसएमको नेटवर्क नपुगेका खोल्साखाल्सीसम्म सीडीएमएका टावरले सजिलै टिप्थ्यो ।
सीडीएमए प्रविधिलाई टेलिकमले ‘स्काइ’ ब्रान्डमा ल्याएर प्रवर्द्धन गरेको थियो । सीडीएमएबाट ‘ई–भिडियो’ (डाटा सेवा) लिन पनि सकिन्थ्यो । ग्रामीण भेगमा सीडीएमएमार्फत डायल अप इन्टरनेट पनि खुबै रुचाइयो ।
ओरालोतिरको यात्रा
सीडीएमए लोकप्रिय हुँदै गर्दा निजी सेवा प्रदायक कम्पनी ‘मेरो मोबाइल’ (हालको एनसेल) ले जीएसएम सेवा थाल्यो । ग्रामीण क्षेत्रमा बीटीएसहरु राख्यो ।त्यसपछि सीडीएमएको उकालो यात्रामा बिराम लाग्यो । महँगो परे पनि ग्रामीण क्षेत्रमा जीएसएम सेवा लैजान टेलिकम पनि बाध्य भयो । त्यसपछि टेलिकमका जीएसएम र सीडीएमए दुवै प्रविधिमा सेवा चल्न थाले । जीएसएम प्रविधिलाई बढी रुचाइयो ।
सीडीएमएमाजस्तो नम्बर लिएर ‘सेट फिक्स’ गर्नुपर्ने झन्झट जीएसएममा थिएन । जुनसुकै सेटमा सिम हाल्न पाइने भएकाले धेरैले त्यसलाई रुचाए । त्यसबाहेक फोन गर्दागर्दै नम्बर सेभ गर्न मिल्ने लगायतका जीएसएमका प्रविधिहरुमा मान्छेको ध्यान गयो।विश्वव्यापी रुपमै जीएसएम फोनको बजार उकासिदै जाँदा नेपालमा पनि सीडीएमए विस्तारै अवहेलनामा पर्दै गयो ।
एकजना टेलिकम इन्जिनियरका अनुसार अमेरिकाले विकास गरेको सीडीएमए प्रविधिमा सेक्युरिटिका लागि कम ‘फेक्जिबिलिटी’ थिए । त्यसले गर्दा पनि जीएसएमभन्दा बढी झन्झटिलो भयो । विकल्पमा विकसित प्रविधि आएपछि सीडीएमएमा मानिसको चासो गएन ।ती इन्जिनियर भन्छन्, ‘उपकरण बनाउने कम्पनीले अमेरिकालाई बौद्धिक सम्पत्तिबापतको शुल्क तिर्नुपर्ने भएकाले पनि सबै दूरसञ्चार कम्पनी जीएसएममै लागे ।’
सेक्युरिटीमा बढी जोड दिएकाले नै यो प्रविधिमा ठूलो अपग्रेड पनि भएन । ‘२.५जी’ सम्म सपोर्ट गर्ने सीडीएमए प्रविधि थ्री–जी आएपछि झन् छायामा पर्दै गयो । सीडीएमए उपकरणहरुको उत्पादन पनि कम हुन थाले । बजारमा यो प्रविधिका सेट पाइनै छाडे ।२०१५ मा आइपुग्दा नेपाल टेलिकमले पनि पाँच वर्षभित्र सीडीएमए प्रविधिलाई विस्थापित गरिसक्ने लक्ष्य निर्धारण ग¥यो । त्यसपछि सेवा विस्तार मात्रै रोकिएन, थप लगानी पनि हुन छाड्यो ।
प्रविधि पुरानो भएकाले उपकरण र सफ्टवेयर नपाएर टावरहरुको मर्मत झन्झटिलो भयो । यो प्रविधिका सामान उत्पादक कम्पनीले बजार नभएपछि उत्पादन गर्ने क्रम लगभग बन्द गरे । त्यसैकारण नेपाल टेलिकम यो सेवाका ग्राहकलाई जीएसएममा रुपान्तरण गर्ने प्रक्रियामा लागेको छ ।
टेलिकमका पूर्व प्रवन्ध निर्देशक आचार्य युगले मागेको प्रविधिलाई आत्मसाथ गर्नै पर्ने बताउँछन् । ‘सीडीएमएले टेलिकमलाई कहिल्यै घाटामा लगेन, ग्रामीण भेगमा यसको सेवा अतुलनीय रह्यो’, उनी भन्छन्, ‘र पनि, युगको मागअनुसार यसलाई विदा गर्न परेको छ ।’