साउन,३२ विराटनगर । शंकास्पद शंक्रमितको स्वाब संकलन गर्न खटिएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर महानगरपालिकामा स्वाब संकलन रोकिएको छ ।
स्वाब संकलनमा खटिने चिकित्सकमा आइतबार संक्रमण पुष्छि भएको हो । अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरी कोरोना जाँच गर्न एक दिन स्वाब संकलन रोकिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।उनका अनुसार संक्रमण पुष्टि भएका चिकित्सकलाई केही दिनयता कोरोनाको लक्षण देखिएको थियो ।
८६ जना संक्रमित थपिए
विराटनगरमा महानगरपालिकामा थप ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महानगरपालिका भित्रका ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ ।
संक्रमित मध्ये ८६ जना कोरोना मुक्त भएका छन् । सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार विराटनगर- २ तीन पैनीकी ५० वषिर्य महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
प्रदेशमा १०३
प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ९२, इलाममा १, खोटाङमा ६ र सुनसरीमा २ सहित प्रदेशमा १०३ जनामा संक्रमण पुष्टि भएकेा हो । संक्रमित मध्ये २ जना प्रदेश २ का छन् ।