त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने

image
शनिबार, भाद्र १३ २०७७

भदौ, १३ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ ।कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।

यसअघि बन्दाबन्दी  खुलेसँगै सवारी साधन सञ्चालन भएपछि परीक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।”उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ ।

चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने नियन्त्रक जोशीले बताए ।सेमेष्टर परीक्षामा भर्चुअल माध्यमबाट परीक्षा लिने बहस पनि छ । तर धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव देखिएको छैन। परीक्षा नियन्त्रक जोशीले भने, डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।’