अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनामा कोरोना पोजेटिभ

image
मङ्गलबार, श्रावण २० २०७७

साउन , २० काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिँदै भने, ‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’त्यस्तै मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।

केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका प्रहरी सहायक निरीक्षक (सई)मा संक्रमण देखिएपछि अख्तियारमा पनि स्वाब संकलन गरिएको थियो ।अख्तियारका प्रवक्ता अधिकारीले कोरोना परीक्षणका लागि स्वाब संकलन गरिए पनि नतिजाबारे औपचारिक जानकारी आइनसकेको बताए ।

‘केहीलाई संक्रमण देखिएको भन्ने कुरा आएको छ । संक्रमण देखिएपछि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम उहाँहरुले गर्नुहुन्छ होला,’ प्रवक्ता अधिकारीले भने, ‘स्वाब संकलन गरिएकामध्ये यी–यी कर्मचारीमा संक्रमण देखियो भनेर औपचारिक जानकारी भने आएको छैन ।’