पर्सामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण

image
मङ्गलबार, श्रावण २० २०७७

साउन , २० काठमाडौँ । पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका छन् । त्यसमा दुई बालक र चार महिला छन् ।

सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा काम गर्ने २८ वर्षीया महिला डाक्टर र वीरगञ्ज ११ घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।

नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङमा परेका अरू दुई स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

यस्तै कोरोना संक्रमितको शव व्यवस्थापन टोलीमा खटेका सेनाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअतिरिक्त एक जना सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका एक पुरुष पनि संक्रमित भएका छन्।योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको छ ।