साउन,३२ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न कम भए पनि पूर्ण रुपमा नियन्त्रण नभएको बताएका छन् ।सरकारले हालै मात्र भारतबाट नेपाल आउने नेपाली नागरिकका लागि १० वटा प्रवेश बिन्दु तोकेको छ । अवैध आवागमनलाई नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको छ ।
तर अझै पनि लुकिछिपी आउने क्रम देखिएको मन्त्री थापाले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ ।’
उनले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सबैलाई आग्रह समेत गरे । मन्त्री थापाले भने, ‘सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं ।’