बाढीले बाटो अवरुद्ध भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु

image
बुधबार, भाद्र १० २०७७

भदौ,१० सुर्खेत । बाढीले बाटो अवरुद्ध भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ। रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो ।

घरमै सुत्केरी भएकी शीराको रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु हरसिंह सार्कीले बताए ।उनका अनुसार शीरालाई भदौ ४ गते राति ११ बजे सुत्केरी ब्यथा लागेको थियो । १२ बजे घरमै छोरा जन्माइन् तर सालनाल नखसेपछि र रक्तश्राब नरोकिएपछि बर्थिङ सेन्टरमा लगिएको थियो ।

तर गाडीमा ५ मिनेटमै पुगिने बर्थिङ सेन्टर पुगिने भए पनि सडक पहिरोले बगाएकाले स्ट्रेचरमा लैजाँदा आधा घण्टा भन्दा बढी समय लाग्यो ।

शीरालाई राति २ बजेमात्र प्रसुति गृह पुर्‍याइयो । तर स्वास्थ्यकर्मीले धेरै रक्तश्राब भएको भन्दै उपचार हुन नसक्ने बताए । त्यहाँ सुत्केरीको उपचार हुन नसकेपछि एक घण्टाको दुरीमा रहेको सामुदायिक अस्पताल लैजाँदै गर्दा शीराको बाटोमै मृत्यु भएको जेठाजु हरसिंहले बताए ।

‘समयमै स्वास्थ्य चौकीमा पुर्‍याउन सकिएको भए सुत्केरीको मृत्यु हुन्थेन होला,’ उनले भने, ‘बाटोमै ढिला हुँदा धेरै रगत बगिसकेको रहेछ । स्वास्थ्यकर्मीले पनि सक्दिन भने ।’

आमाको मृत्यु भएपछि दूध खान नपाएर नाबालक बच्चाको समेत एकदिन पछि मृत्यु भएको हरसिंहले जनाए ।पाँच वर्षअघि निर्माण गरिएको उक्त सडक बर्षेनी वर्षायाममा अवरुद्ध हुँदै आएको छ । ‘ठाउँ ठाउँमा बाटो नबिग्रिएको भए दुई/तीन घण्टामै सदरमुकाम पुगिन्छ,’ उनले भने, ‘तर बाटो बिग्रेकाले समयमा पु¥याउन सकिएन ।’