भदौ, १ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दुई अध्यक्षबीच असमझदारी बढेपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठकमा हालै गठित ६ सदस्यीय कार्यदलको कार्यदेशबारे छलफल हुने बताइएको छ ।
साउन ४ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच पटक पटकका छलफलपछि शुक्रवार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएर पार्टीभित्र उत्पन्न समस्या समाधानकाका लागि सुझाव पेश गर्न जिम्मा दिइएको थियो ।
सो कार्यदलको दुईपटक बैठक समेत बसिसकेको छ । बरिष्ठ नेता नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतले पार्टीको बैठकबाट कार्यदल गठन गरेको भए त्यसले संस्थागत मान्यता पाउने बताएपछि कार्यदललाई अनुमोदन गर्न आज बैठक बसेको हो। बैठकले सो कार्यदललाई कार्यादेशसमेत दिनेछ ।
कार्यदलमा भीम रावल,शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । दुई अध्यक्षबीच मोटाामोटी समझदारी भइसकेको र त्यसैलाई लिखित रुपमा बैठकबाट अनुमोदन गर्नेगरी कार्यदलले मस्यौदा गर्ने नेताहरुले जानकारी दिएका छन् ।
सचिवालय बैठकले महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको समय समेत तोक्ने भएको छ । सो कार्यदलले तयार पारेको सहमतिको मस्यौदा दुई अध्यक्ष हुँदै सचिवालय र स्थायी कमिटीमा छलफल गराइने भएको छ ।
असार १० गते शुरु भएको नेकपा स्थायी कमिटी बैठक चलिरहेकै बेला नेकपामा एकाएक प्रधानमन्त्रीको राजिनामाको विषय प्रवेश गरेपछि विवाद बढेको थियो । प्रधानमन्त्रीले असार १६ गते बालुवाटारमै आयोजित एक कार्यक्रममा आफूलाई हटाउन भारत लागेको र पार्टीभित्र पनि त्यसको प्रभाव परेको बताएका थिए ।
त्यसको कडा प्रतिवाद गर्दै अध्यक्ष प्रचण्डले राजिनामा भारतले नभई आफूले मागेको बताएका थिए । त्यसपछि नेकपा बैठक बस्न सकेन । पछिल्लो पटक ओलीले एकतर्फी रुपमा बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि नेकपा बिभाजनको सँघारमा पुगेको थियो ।