भदौ, ३१ काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । घिसिङको पुन नियुक्तको माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो ।
बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु बोकेका थिए ।
राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मंगलबारबाट औपचारिकरुपमा विदा भएका छन् । उनको विदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।
उनको पुनर्नियुक्तिका लाविग प्रधानमन्त्री ओली इच्छुक नभएको समाचारहरु सार्वजनिक भएका छन् ।
प्राधिकरकणमा कोइरालाई निमित्त
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् ।
ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई निमित्तको जिम्मेवारी दिएका हुन् ।विभिन्न सञ्चारमाध्यमा निमित्त कार्यकारी निर्देशक हुँदै कार्यकारी निर्देशक हुन हितेन्द्र देव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ सुरु गरेको समाचार यसअगाडी प्रकाशित भएका थिए ।