भारतमा लगातार चौथो दिन थपिए ९० हजारभन्दा धेरै कोरोना संक्रमित

image
आइतबार​, भाद्र २८ २०७७

भदौ,२८ काठमाडौं ।भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड–१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार ४ सय ९ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४७ लाख ५४ हजार ३ सय ५६ पुगेको छ ।

 

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७८ हजार ६ सय १४ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण १ हजार १ सय ८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३७ लाख दुई हजार ५ सय ९५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । त्यस्तै निको हुन बाँकी संक्रमितको संख्या ९ लाख ७३ हजार १ सय ४७ छ ।भारत अमेरिकापछि विश्वमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएको मुलुक हो ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण ६६ लाख ७६ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृत्यु हुनेको संख्यामा भने भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म १ लाख ९८ हजारभन्दा धेरैको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने ब्राजिलमा १ लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।