अनलाइन (भर्चुअल) सोह्र श्राद्ध : पढ्न सजिलो, सिदा पुर्‍याउन गाह्रो !

image
बुधबार, भाद्र १७ २०७७

भदौ,१७ काठमाडौं । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । यस वर्षको सोह्र श्राद्धलाई कोरोना भाइरसको महामारी र निषेधाज्ञाले प्रभावित पारेको छ । यस्तो अवस्थामा पुरोहितहरुमाझ ‘भर्चुअल श्राद्ध’ गर्ने कि तिथि सार्ने भन्ने विवाद उब्जिएको छ ।

लकडाउन र निशेधाज्ञाका कारण स–साना बालवालिकाहरु अनलाइनमार्फत भर्चुल कक्षामा अभ्यस्त भइरहेका छन् । अब श्राद्ध गर्ने पुरोहितहरुले पनि त्यसैगरी अनलाइन माध्यमबाटै पूजाआजा गर्नुपर्ने, वा श्राद्ध नै स्थगत गर्नुपर्ने दिन आएको छ ।अनलाइनबाटै श्राद्ध गर्न त सजिलै होला, तर यजमानबाट पुरोहितले पाउने चामल, दाललगायतका सिदा सर्दाम र दक्षिणा थाप्न अप्ठ्यारो हुने पुरोहितहरु बताउँछन् । यसका लागि पुरोहित र यजमानवीच  नगद नारायणका लागि मोबाइल बैंकिङमा जानुपर्ने अवस्था हुन सक्छ।

विगतमा पशुपतिनाथ लगायत प्रशिद्ध मन्दिर वरपर लाइनमा बसेर श्राद्ध गराउने पुरोहितहरु सबैजना अनलाइन माध्यममा अपग्रेड हुन सहज चाहिँ छैन । किनभने, सबैसँग इन्टरनेटको पहुँच नहुन सक्छ ।

विगतमा जस्तै घरघरमा डुलेर श्राद्ध गर्नका लागि एक त निशेधाज्ञा छ, अर्को, कोरोना सर्ने जोखिम पनि उत्तिकै हुन्छ । किनभने, कोरोनाले धार्मात्मा वा पुरोहित भन्दैन ।

यस्तो परिस्थितिमा अनलाइनको पहुँचमा नपुगेका पुरोहितहरु बेरोजगार हुने सम्भावनालाई कोरोना महामारीले बढाइदिएको छ । हरेक क्षेत्रमा जस्तै व्यवसायिक पुरोहितको पेशा पनि संकटमा परेको प्रमाणका रुपमा यसलाई लिन सकिन्छ ।

कोरोना महामारी नआएको भए आजदेखि १६ दिनसम्म पशुपति मन्दिर आसपास पुरोहितहरुको भीड लाग्थ्यो । र, उनीहरुको कमाइ पनि मनग्ये हुन्थ्यो ।

सोह्र श्राद्धको महिमा

हिन्दु धर्मावलम्बीहरुले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरूको सम्झनामा गर्ने एकमुष्ट श्राद्धकर्मलाई सोह्र श्राद्ध भनिन्छ । यो आश्विन कृष्ण पक्षको १५ दिन र शुक्लपक्षको एकदिन गरी १६ दिनसम्म चल्ने भएकाले यसको नाम नै सोह्र श्राद्ध रहन गएको हो ।

 

चान्द्रमास अनुसार प्रतिपदादेखि चतुर्दशीसम्मको १४ दिन, औंशी र पूर्णिमा गरी कुल १६ वटा तिथि हुन्छ । वर्षभरि जुन तिथिमा पितृहरूको देहावसान भएको छ, आश्विन कृष्ण पक्षको त्यही तिथिमा सोह्र श्राद्ध गर्ने गरिन्छ ।

अहिले उपत्यकासहित विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ । एकअर्काको घरमा जानसमेत जोखिमपूर्ण हुने अवस्थामा सोह्र श्राद्ध कसरी गर्ने त ? तोकिएको मितिमा सोह्र श्राद्ध गर्न नसक्दाको अवस्थामा के गर्न सकिन्छ ? यसबारे धेरैमा अन्योल छाएको छ ।

यही अन्योलका बीच भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्ने विकल्प आएको हो । विभिन्न संस्थाहरूले भर्चुअल विधिमार्फत् श्राद्ध गराउने बताएसँगै यस विकल्पमा समेत धेरैको ध्यान गएको सरोकारवाला निकायका अधिकारीहरू बताउँछन् । तर, भर्चुअल श्राद्ध गर्दा विधि नपुग्ने भएकाले यो उपयुक्त नहुने मत पनि आएको छ ।

तीन विकल्प

पुरोहितहरुका अनुसार कोरोनाकाबीच सोह्र श्राद्ध गर्नका लागि निम्न तीन विकल्प छन् ।

१. जोखिमकै बीच सम्भव भएसम्म भौतिकरुपमा नै उपस्थित भएर श्राद्ध गराउने,

२. तोकिएको मितिमा नगरेर महामारीको अवस्था सामान्य भएपछि मात्र शास्त्रले तोकेको अर्काे तिथिमा श्राद्ध गर्ने,

३. भर्चुअल विधिमार्फत् श्राद्ध गराउने ।

यिनै तीन विकल्पहरुमा अहिले बहस सुरु भएको छ ।

पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेल श्राद्ध गर्दा टीका लगाउने, गोदान गर्ने जस्ता प्रक्रियाहरू प्रत्यक्ष भेटेर नै गर्नुपर्नेखालको भएकाले भर्चुअल श्राद्धमा पूरा विधि समेट्न नसकिने बताउँछन्

‘भर्चुअल श्राद्ध भन्दा तिथि सार्नु बेस’

पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेल पहिलो र तेस्रोभन्दा दोस्रो विकल्प उचित हुने बताउँछन् । अहिले ज्यान जोगाउनु पनि उपयुक्त भएकाले घरमा पण्डित बोलाउन सम्भव नभए अहिलेको श्राद्धलाई शास्त्रले तोकेको कात्तिक मसान्तअघिकै कुनै तिथिमा गर्न सकिने उनी बताउँछन् ।

ढुंगेलका अनुसार अहिले कोरोरोनाले जस्तै विगतमा पनि सोह्र श्राद्धलाई जूठो/सुतकले अवरोध गराउने गरेकै थियो । श्राद्ध गराउने कर्ता कुनै जटिल स्वास्थ्य समस्यामा परेर श्राद्ध गराउन नसक्ने अवस्थामा पनि विगतमा आउने गरेको थियो । र, त्यस्तो बेलामा असोजको अमावश्या अर्थात् औंसीको दिन सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय मान्यता पहिल्यैदेखि रहेकाले त्यही मान्यताअनुसार अघि बढ्न सकिने ढुंगेलको मत छ ।

सकेसम्म परम्परागत विधिमार्फत् नै श्राद्ध गर्ने र सम्भव नभए अहिले पनि महामारीका कारण श्राद्ध गराउन सम्भव नरहेको मानेर पछि श्राद्ध गराउनु उपयुक्त हुने उनी बताउँछन् ।

उनको तर्क अनुसार भदौ १७ गतेदेखि भदौ ३० गतेसम्मको जुनसुकै तिथिको श्राद्ध पनि तोकिएको तिथिमा सम्पन्न भएन भने त्यसलाई यस वर्ष असोज १ गते गर्न सकिने शास्त्रीय मान्यता छ ।

यदि कुनै कारणले औंसीको दिन पनि श्राद्ध गर्न सकिएन भने जुनसुकै तिथिको श्राद्ध पनि घटस्थापनाको ५ दिनपछि अर्थात् नवरात्रिको पञ्चमीका दिन गर्न सकिने उनी बताउँछन् । त्यसदिन पनि श्राद्ध गर्न नसकेको खण्डमा गाईतिहारे औंसीको दिन श्राद्ध गर्न सकिने उनको सुझाव छ ।

ढुंगेलका अनुसार सोह्र श्राद्ध गर्नका लागि मंसिर संक्रान्तिसम्मका विभिन्न तिथिहरु शास्त्रले बताएको छ । त्यो समयसीमाअघि माथि उल्लेख गरिएको तिथिबाहेक जुनसुकै अष्टमी, द्वादशी र औंसी तिथिमा सोह्र श्राद्ध गर्न सकिने कुरा शास्त्रमा उल्लेख रहेको उनी बताउँछन् ।

यदि मंसिर संक्रान्तिसम्म पनि सोह्र श्राद्ध गर्न सकिएन भने चाहिँ प्रायश्चित पूजा गरेर अर्काे सोह्र श्राद्धसम्म दैनिक एउटा मन्त्रको जप ध्यान गर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताए ।

ढुंगेल भर्चुअल श्राद्ध उपयुक्त नरहेको तर्क गर्छन् । श्राद्ध गर्दा टीका लगाउने, गोदान गर्ने जस्ता प्रक्रियाहरू प्रत्यक्ष भेटेर नै गर्नुपर्नेखालको भएकाले भर्चुअल श्राद्धमा पूरा विधि समेट्न नसकिने उनी बताउँछन् ।

‘भर्चुअल श्राद्ध व्यवहारिक देखिँदैन,’ ढुंगेलले भने ‘शास्त्रले ज्वाइँ भाञ्जालाई टीका लगाउने वा गोदान गर्न सकिने उल्लेख गरेको छ । घरमा नै टीका लगाउने व्यक्ति उपलब्ध भएमात्रै हो । अन्यथा भर्चुअल श्राद्धमा विधि पूरा नै हुँदैन ।’

भर्चुअल पक्षधरको बेग्लै तर्क

तेस्रो विकल्प अर्थात् भर्चुअल श्राद्धको पक्षमा रहेका संस्थाहरू भने श्राद्ध गराउने कर्ताले चाहेको खण्डमा आफूहरूले भर्चुअल श्राद्धको विकल्पसमेत अघि सारेको बताउँछन् ।

कसैलाई तोकिएकै दिनमा श्राद्ध गर्छु भन्ने लाग्यो भने आवश्यक सामग्री र पण्डितको व्यवस्था गरिएको पूजा सर्भिस डटकमका सञ्चालक एलपी अर्यालले  बताए ।

सोमबारदेखि नै सुरु भएको सो सेवामा अहिलेसम्म एक दर्जनजतिले जिज्ञासा राखिसकेको उनी बताउँछन् ।‘हामी वास्तवमा पूजा सामग्री र श्राद्धका लागि समेत चाहिने सामग्री बिक्री गर्ने संस्था हौं । तर, हामीले अहिलेको विषम परिस्थितिमा श्राद्धका लागि सहज होस् भनेर भर्चुअल श्राद्धको विकल्प अघि सारेका छौं,’ अर्यालले भने ।

कसरी हुन्छ भर्चुअल श्राद्ध ?

कोरोना भाइरसको महामारीका कारण पण्डितहरू घरघरमा गएर श्राद्ध गराउन नसक्ने भएपछि भिडियो च्याटमार्फत् पण्डितले मन्त्र पढ्ने र घरमा नै बसेर कर्ताले सबै विधि पुर्‍याउने विधि नै भर्चुअल श्राद्ध हो ।

यसका लागि श्राद्धको सम्पूर्ण विधि जानेको कर्ता हुनुपर्छ भने सबै आवश्यक सामग्री आफैंले तयारी गर्न जानेको हुनुपर्छ । पूजा सर्भिसका सञ्चालक अर्याल भन्छन् ‘घरमा सबै विधि आफैँले पूरा गर्न सक्छु भन्ने भएमा त्यस्ता मान्छेलाई मात्रै भर्चुअल श्राद्धमा समेटिन्छ । अन्यथा हामी उहाँहरूलाई समेट्न सक्दैनौं ।’यस विधिमा पण्डितहरूले भिडियो च्याटबाटै मन्त्र भन्छन् भने अनलाइन पेमेन्ट सेवा प्रदायकको खातामा पैसा पठाउने अर्यालले बताए ।