तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

image
मङ्गलबार, आश्वीन १३ २०७७

असोज, १३ काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले साउन १९ गते (सेप्टेम्बर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने अनलाइनखबरलाई जानकारी दिए ।

मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।

दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए । ‘नाका खोल्ने विषयमा सहमति भएको हो’ उनले भने, ‘उनीहरुले (चिनियाँ पक्षले) सेप्टेम्बर ४ तारेखसम्म तयारी पूरा गर्छन् र ५ तारेख (असोज १९ गते) बाट सामान हाम्रोमा आइपुग्छ ।’

नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । ‘हामीले सामान लोड गर्ने  मान्छे तयार पार्नुपर्छ । २५ जनाको ग्रुप यसअघि नै थिए, थप २९ जनाको ग्रुप तयार पार्छौं’ प्रजिअ ढकालले भने ।

सामान लोड अनलोड गर्ने मजदुरको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको प्रजिअ ढकालले बताए ।