कात्तिक,२४ काठमाडौं । नेपालको वैदेशिक व्यापार सामान्यअवस्थामा फर्किएको छ । कोरोना महामारीपछि वैदेशिक व्यापार ९० प्रतिशतसम्म खुम्चिए पनि अहिले गत वर्षकै अवस्थामा पुगेको हो । भन्सार विभागका अनुसार अहिले वीरगंजमा गत वर्षकै हाराहारीमा सामान आयात हुन थालेको छ । विभागका अनुसार गत असोज, कात्तिकमा वीरगंजमा दैनिक ७ सय हाराहारी मालसामानका गाडी भित्रिने गरेका थिए । अहिले पनि सोही परिणममा भित्रिन थालेको विभागको भनाइ छ ।
अहिले एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट दैनिक ७ सय सम्म गाडी मालसामान भित्रिइरहेको जानकारी आईसीपी सञ्चालक नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
आईसीपीबाट भित्रिने गाडीको संख्या बढेपछि पार्किङको अभाव भएको छ । आईसीपीमा अहिले २५० देखि ३०० गाडी अटाउने पार्किङ स्थल छ । गाडीको चाप बढेपछि आईसीपीले बिलिङ काउन्टर पनि थपेको छ । यसअघि २ ओटा काउन्टरबाट काम भइरहेकोमा गाडीको संख्या बढेकाले एउटा काउन्टर थपिएको आईसीपी सञ्चालकले बताएको छ ।
सुक्खा बन्दरगाह भन्सारबाट पनि मालसामानको जाँचपास बढेको छ । ‘केही दिनयता यो भन्सारबाट छुट्ने मालवस्तुको परिमाण पुरानै लयमा पुगेको छ । बन्दरगाहमा अहिले दैनिक २ रेल र्याक मालसामान आइरहेको छ । दिनहुँ ३ सयदेखि ३५० सम्म कन्टेनर जाँचपास हुन थालेको छ ।