काठमाण्डौ उपत्यकामा एक्कासी ठूलो बर्षा

image
शनिबार, आषाढ २६ २०७८

आज बिहान काठमाण्डौ उपत्यका लगायतका केहि ठाउँहरूमा मौसम सफा देखिएता पनि उपत्यकामा दिउँसो ठूलो पानी परेको छ । काठमाण्डौमा गएको एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको छ ।

ठूलो पानीसँगै काठमाण्डौका विभिन्न खोलामा बाढी आएको छ । अनामनगर, बानेश्वर क्षेत्रको सडक तथा छेउछाउका घरमा समेत पानी पसेको छ । दिउँसो एक्कासी परेको पानीले ती क्षेत्रहरू जलमङ्ग्न भएका छन् । यस्तै काठमाण्डौको घट्टेकुलो क्षेत्र पनि डुबानमा परेको छ ।

वाग्मती, मनोहरा, हनुमन्ते, गोदावरी लगायतका नदीमा पनि पानीको बहाव अचानक बढेकोले छेउछाउका बस्तिहरूमा सचेत रहन आग्रह गरिएको छ । कतिपय ठाउँको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ, साथै गाडी कुरीरहेका यात्रुहरू बिचल्लीमा परेका छन् । काठमाण्डौमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययम र केही ठाउँमा ठूलो पानी परिरहेको महाशाखाले जनाएको छ ।