भिमफेदी, साउन ०८। नेपाल स्काउट तथा बागमती प्रदेश स्काउट अन्तर्गत रहेको स्थानीय स्काउट कार्यालय भीमफेदीले युवाहरुलाई लक्षित गरी स्काउट बारे प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न सँगै "हेरिटेज भिमफेदी स्काउट क्र्यु" को स्थापना गरिएको छ । युवा पुस्तालाई स्काउटिङ्ग गतिविधिमा सामेल गराई स्काउट स्वयंसेवक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
"भीमफेदी स्काउट मानवीय तथा सामाजिक हितको काममा सक्रिय भएकोमा खुसी लागेको र भोलिका गतिविधिमा आफू संधै स्काउटको अभिभावकको भुमिका रूपमा तयार भई सहयोग गर्ने", भिमफेदी गाउँपालिकाका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक हिदम लामाले बताए । यस्तै कार्यक्रम १६ देखि २४ वर्षका उमेर समूहलाई लक्षित गरी आयोजना गरेको स्थानीय स्काउट समितीका सदस्य राजीव भुपेन्द्र रानाले बताए ।
कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा बागमती प्रदेश स्काउट सदस्य अशोक सारु मगर, सहायक प्रशिक्षक स्काउट भिमफेदीका संयोजक आशिष् अस्लामी मगर र रोभर लिडर अनिल आचार्यले ३५ जना युवाहरूलाई स्काउट सम्बन्धि अभिमुखीकरण प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा अतिथिको रूपमा भिमफेदी गाउँपालिकाका शिक्षा शाखा सह-प्रमुख तथा स्काउटको सदस्य सचिव गोविन्द प्रसाद चौलागाईं, भिमफेदी गाउँपालिकाका प्रशासन शाखा प्रमुख रविचन्द्र थापा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।