सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोप ८ लाख डोज खरिद गरी नेपाल ल्याएको छ ।
चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरी नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मार्फत आज बिहान नेपाल ल्याएको हो ।
६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने तयारी भइरहेको छ । यस्तै, कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।