काठमाडौं, १९ साउन/ काठमाडौं उपत्यकाबाट हराएका तथा चोरी भएका सवारी साधन खोजतलास गर्ने तथा सवारी साधन चोरी गर्न संलग्न हुने व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही गर्ने प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद लुईटेललाई मंगलबार ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीनपुस्तेमा जनिने गरी प्रमाणपत्र र एक हजार रूपैयाँ पुरस्कार सहित सम्मान गरिएको छ । प्रहरीको छवि उच्च बनाउनेजस्ता प्रशंसनीय कार्य गरेकाले उनलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कृत गरिएको हो ।
एसएसपी भट्टराईले विभागीय नीति निर्देशन बमोजिम ट्राफिक प्रहरीको काम कारबाहीलाई परिमाणमुखी र व्यवसायिक ढंगबाट उपत्यकाको विभिन्न समयमा भिन्न-भिन्न स्थानबाट हराएका मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सुचना संकलन एंव निगरानीमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाेमा खुसी व्यक्त गर्दै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा ल्याई कानुनी दायरामा ल्याउने तथा हराएका मोटरसाईकल खोजतलास गरी परिमाणमुखी भूमिका खेल्ने तथा आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी काम गर्ने सम्पूर्ण ट्राफिक प्रहरी, प्रहरीहरूलाई धन्यवाद दिएका छन् । उनले राम्रो काम गर्ने प्रहरीलाई ठाउँको ठाउँ पुरस्कृत र नराम्रो गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताएका छन् ।
प्रहरी सहायक निरीक्षक लुईटेल महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाईमा कार्यरत रहेका छन् ।