भिमफेदी, ३१ भदौं/ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.४ निवुवाटारमा जीवन लामाको अध्यक्षतामा १३ सदस्यीय नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत रहेको नयाँ संगठन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन भिमफेदी गाउँपालिका कमिटी गठन भएको छ ।कमिटीको उपाध्यक्षमा भक्तबहादुर स्याङतान, सचिवमा अञ्जित अधिकारी, सह-सचिवमा राजु आचार्य, कोषाध्यक्षमा उमेश कुमार क्षेत्री, सदस्यहरूमा राज किरण श्रेष्ठ, विनोद लामा, नयन कुमार लामा, राम कुमार भुजेल, श्याम सुन्दर बल, रामकाजी परियार, पुष्पलाल श्रेष्ठ र उमेश लामा रहेका छन् । नेकपा एमाले निकट तथा नेपाल ट्रेड यनियन महासंघ (जिफन्ट) गाउँपालिकाको बिहीवार भएको भेलाले सो कमिटी गठन गरिएको हो ।
"जिफन्टले विगत २० वर्षदेखि श्रमिकको हकहितको लागि लडिरहेको र सधैं श्रमिकको हक हितकै लागि लड्न तयार रहेको", कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाग्मती प्रदेशका कमिटी सचिव अर्जुन अर्यालले बताउनुभयो । उहाँका अनुसार २०७५ सालमा नेपाल सरकारले सामाजिक सुरक्षा योजना कार्यक्रमलाई प्राथमिकतामा राखेर हरेक श्रमजिवी श्रमिकहरुको लागि खुसीमय वातावरण बनाएकोमा आफुलगायत श्रमिकहरु पनि खुसी भएको बताउनुभयो । उनले आउने दिनमा कुनै पनि श्रमिकहरुलाई आइपरेका समस्याहरुलाई केलाउँदै जाने र समस्याको हल तुरुन्तै निकाल्ने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल राष्ट्रिय कमिटीका सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) युवा कमिटीका अध्यक्ष सन्तोष पुडासैनीका अनसार नयाँ कमिटीका सदस्यहरुलाई धन्यवाद दिंनुहुँदै साउनको १ गतेबाट नेपालमा रहेका हरेक श्रमिकहरुको न्युनतम तलब रु १५ हजार तोकिएकोले सबै श्रमिकले सोही अनुसारको तलब पाउनुपर्ने भन्दै नपाएको खण्डमा जिफन्ट श्रमिकहरुको निम्ति लड्न तयार रहेको बताउनुभयो ।
मकवानपुर जिल्ला युवा संघ पूर्व २ नं. का क्षेत्रीय अध्यक्ष सागर पाण्डेले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिफन्ट अन्तर्गत करिब १९ वटा विभिन्न पेसामा आबद्ध श्रमिकहरुको छुट्टै संगठन रहेको छ ।
- इरोज लामा