मकवानपुर, १८ असोज/ “सबैको मनमा खेलकुदको माया, सबै मिली गरौं यसको संरचना” भन्ने मुल नाराका साथ मंगलबारबाट फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । भिमफेदी गाउँपालिका वडा नं. ४ मा अवस्थित चिउरीबगैंचा युवा कल्बले विजयादशमीको पावन अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा आयोजक टिम (चिउरी बगैंचा ए र बी), भिमफेदी ए र बी, पान्द्राङ ए र बी, गुण्डिङ, टौबास र सानुटार गरी ९ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३० केजी खसीसहित कप र दोश्रो हुने टिमलाई कपको मात्र व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता बागमती प्रदेश सरकार र भिमफेदी गाउँपालिकाको समन्वयमा तीन महिनाअघि चिउरीबगैंचामै निर्माण गरिएको फुटबल चौरमा हुनेछ । प्रतियोगिताकाे सम्पूर्ण तयारी भईसकेको आयोजकले जनाएको छ । प्रतियोगिता भोली १९ ठिक २ बजे देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
- इरोज लामा