सलह कहिले कहाँबाट कता गए ?

image
मङ्गलबार, आषाढ १६ २०७७


केन्द्रका अनुसार गत शनिबार बारा, पर्सा, रौतहट, सर्लाहीबाट करिब तीन हजारको संख्यामा सलह नवलपुर उड्यो । 

महोत्तरीको बर्दिबासस्थित जंगलबाट आइतबार सिन्धुलीतर्फ र शनिबारै मकवानपुरबाट करिब १० लाखको संख्यामा रहेको सलहको झुन्ड चितवनतर्फ गएको थियो । यो क्षेत्रमा करिब एक हजार रोपनीमा सलहले केही असर पारेको केन्द्रले जनाएको छ ।

करिब एक लाखको संख्यामा रहेको सलहको झुन्ड चितवनको कालिका, शक्तिखोर, रत्ननगर क्षेत्रमा फैलिएको थियो ।

यसैगरी शनिबारै सिन्धुलीको भिमानबाट करिब तीन लाखको संख्यामा रहेको सलहको झुन्ड काभ्रे र रामेछापतर्फ गएको थियो । रामेछाप र काभ्रेमा ती सलह बाँडिएका थिए ।

त्यसैगरी रूपन्देहीको बुटवल तथा सैनामैनामा करिब सात लाखको संख्यामा रहेको सलह पाल्पा र कपिलवस्तु पुगेको केन्द्रले जनाएको छ । यो क्षेत्रमा सामान्य क्षति पुर्‍याएको केन्द्रको अनुमान छ ।

कपिलवस्तुको वाणगंगामा करिब सात हजार सलह तितरबितर भएका थिए । यसैगरी पाल्पामा करिब ५ लाखको हाराहारीमा रहेको सहल स्याङ्जा र गुल्मी पुगेको केन्द्रले जनाएको छ । स्याङ्जाको कालीगण्डकी क्षेत्रमा करिब ५० हजारको संख्यामा सलह देखिएको थियो ।

यस्तै आइतबार दाङको गढवा, तुलसीपुरको केही क्षेत्रमा सलहले क्षति पुर्याएको केन्द्रले जनाएको छ ।

कपिलवस्तुमा आइतबार साँझ देखिएको करिब १० लाख सलह पूर्व तथा पश्चिमतर्फ गएको छ । यहाँबाट अर्घाखाँची, दाङ, प्युठान गएको केन्द्रले जनाएको छ । प्युठानमा करिब हजारको संख्यामा, गुल्मी केही संख्यामा, कास्की करिब दुई लाखको संख्यामा एवं पाँचथर, उदयपुर, खोटाङ सयभन्दा कम संख्यामा छरिएर सलह गएको केन्द्रले जनाएको छ । त्यसैगरी करिब हजारको संख्यामा कैलालीको लम्की, घोडाघोडीतर्फ गएको केन्द्रले जनाएको छ ।