चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किए

image
बुधबार, आषाढ ३१ २०७७

असार,३१ सप्तरी। चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए । महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो । घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन् ।

यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ । डाक्नेश्री–३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ । घर भत्किँदा रु ५३ हजारको क्षति भएको सप्तरी प्रहरीले अनुमान गरेको छ । रासस