असार, २९काठमाडौं । प्रहरीले १४ वर्षअघि भएको हत्या प्रकरणका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले १४ वर्षअघि काठमाडौं सितापाइलाका एक दम्पतीको हत्यामा संलग्न अभियुक्तलाई भारतबाट पक्राउ गरेको जनाएको छ ।
फरार सूचीमा रहेका स्थायी घर सर्लाही भएका जयकिशोर साह पक्राउ परेका हुन् । साह र उनका एकजना साथी मिलेर उनीहरु काम गर्ने कान्तिपुर मिलका सञ्चालक नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको विभत्स हत्या गरेर उनी फरार भएका थिए । घटनामा सुवेदी दम्पतीका छोरा पनि घाइते भएका थिए।
सो घटनापछि फरार रहेका उनीहरु भारतका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएको प्रहरीको अनसन्धानपछि खुलेको छ । साहलाई हुलियाको आधारमा पहिचान गरी पक्राउ गरिएको सीआइबीले जनाएको छ । उनका अर्का साथी भने अझै पक्राउ पर्न सकेका छैनन् । उनीहरु भारत गएपछि छुटिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका साह नाम परिवर्तन गरी भारतमा राशन कार्ड बनाएर बसेका थिए । सोही कार्डमा भएको उनको हुलियाको पहिचानको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका साहलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थिति गराउँदैछ ।