असार,३० चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ। सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । उहाँले सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उहाँले जानकारी दिनुभयो ।
सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।
सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।
अधिकारीले धसिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताउनुभयो । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी नै रहेको उहाँले जानकारी दिनुभयो । यो सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो । – रासस