असार, २८ कास्की । कास्कीका व्यायाम व्यवसायी संघ कास्की, कास्की जिल्ला बडीबिल्डिङ एण्ड फिटनेस संघ, फुटसल ब्यवसायी संघ तथा जुम्बा ब्यवसायी संघ, कास्कीले ब्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई ज्ञापन पत्र बुझाएका छन् ।
आइतबार लकडाउनका कारण आफूहरुको ब्यवसाय धरापमा परेको तथा जीवनयापनदेखि बैंकको किस्ता तिर्न गाह्रो भएको भन्दै ब्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।ब्यायाम ब्यवसायी संघ कास्कीका अध्यक्ष शंकरमान उदासले विज्ञप्ती जारी गर्दै करोडौ रुपैया ऋण लिएर ब्यवसाय सञ्चालन गरेको तर, लकडाउनका कारण बैंकले किस्ता तिर्नका लागि बारम्बार ताकेता गरेका कारण बन्द रहेका ब्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।
व्यायाम व्यवसायी संघ कास्कीका सचिव बलराम सुवेदीले रोगले भन्दा पनि भोकले मर्न बाध्य भएको बताए । व्यायम, फुटसल, जुम्बा लगायत कार्य खेलकुद मात्र नरहेर मानिसलाई स्वास्थ्य बनाउने माध्यमसमेत रहेको बताउँदै सञ्चालनको लागि १० बुँदे सुनुवाईसहित व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।
आफूहरुले उचित मापदण्ड बनाएर व्यवसाय सञ्चालन गर्न सक्ने उनले बताए । घर तथा जग्गाको भाडा तथा बंैकको किस्ताले समेत दबाब दिएको कारण व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर जिम, जुम्बा, फुटसल सञ्चालन गर्न दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्नासमेत दिएका छन् । संघहरुले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गराउँदै १० बुँदे माग राखेका छन् ।
व्यायाम व्यवसायी संघ, कास्कीको १० बुँदे मागहरु :
१. व्यायामशालाको पूराना तथा नजिकका सदस्यहरुलाई मात्र प्रवेश दिइने र नयाँ सदस्यलाई भर्ना नगरिने ।
२. व्यायामशाला प्रवेश अघि सावुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने र ज्वरो जाँच अनिवार्य गरिनेछ ।
३. व्यायामशालाको क्षमता ५० बढी भएपनि एकपटकमा १० जनाले प्रवेश गर्ने गरी समय तालिका मिलाइनेछ ।
४. फुटसलको हकमा ५÷५ जना मात्र गरी १ खेलमा कुल १० जना खेलाडीहरुलाई मात्र प्रवेश दिइने, दर्शकहरुलाई प्रवेश गराइने छैन ।
५. प्रत्येक सदस्यहरुले अनिवार्य रुपमा व्याक्तिगत टावल, पानीको बोटल, ग्लोब्स, सेनिटाइजर र माक्स प्रयोग गर्ने ।
६. व्यायामशालामा आउने सम्पूर्ण सदस्यहरुको पूर्णरुपमा विवरण राखिने छ ।
७. प्रत्येक सिफ्टपछि व्यायाशालामा डिसइन्फेक्सन, पूर्ण रुपमा सेनिटाइज र सरसफई गरिनेछ
८. सम्पूर्ण कर्मचारीहरुले पूर्ण सावधानी अपनाउने ।
९. सम्पूर्ण सदस्यहरुलाई सामाजिक दूरी अनिवार्य रुपमा कायम गराउने ।
१०. कास्की जिल्लाका सम्पूर्ण व्यायामशालाले माथि उल्लेखित प्रतिबद्धता पूरा गरे–नगरेको अनुगमन गर्ने ।
कास्की जिल्लामा जिम, जुम्वा र फुटसल गरेर जम्मा ६५ वटा संस्थाहरुको रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्