सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरो : दुई जनाको शव भेटियो, तीन जना बेपत्ता

image
बिहीबार, श्रावण १ २०७७

साउन,१ काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति आएको पहिरोले गेन्जिङ शेर्पाको घर बगाउँदा बेपत्ता भएका पाँचजना मध्ये दुई जनाको शव फेला परेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिए । महर्जनका अनुसार ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको हो ।

एसपी महर्जनका अनुसार ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको छ । गेन्जिङ भने घरबाहिर रहेका कारण पहिरोबाट बच्न सफल भएको उनले बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता तीनजनाको खोजी कार्य जारी राखेको उनले बताए ।