असार,३१ काठमाडौं । साझा यातायातले बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए ।
संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ ।
सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पाण्डेय बताउँछन् । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ ।
‘बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गर्छौं,’ पाण्डेयले भने । यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना छ ।
सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन्। यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।
काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।