असार,२६ पोखरा । बिहीबारदेखि निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठूलो जनधनको क्षति भएको छ ।
बर्षातका कारण ठाउँठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका- १८ सराङकोटमा ५ जना, पोखरा- २५ हेम्जामा एक जना र पोखरा- २६ पैतेडाँडामा एकजना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।
सराङकोटको गोठाधीमा गएको पहिरोमा परी ज्यान गुमाउनेमा ५० वर्षीय टंकबहादुर थापा, ४० वर्षीय सोममाया थापा, ६ वर्षीय सुवान थापा, ११ वर्षीय इशिका थापा छन् । अर्का एक जनाको नाम खुलेको छैन ।
मृतक ५ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाएको छ ।
हेमजा मेलबोटमा गएको पहिरोमा परी ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । ‘त्यहाँ राति करिब साढे १ बजेको समयमा पहिरो गएको सूचना पाएपछि हाम्रो टोली त्यहाँ पुग्यो । त्यहाँबाट ७ जनालाई सकुशल उद्धार गर्न सफल भयौं,’ प्रवक्ता हमालले भने।
प्रहरी चौकी नै डुबानमा
पोखरा २७ डाँडाको नाकमा रहेको इलाका प्रहरी कार्यालय डुबानमा परेको छ । २ तले भवनमा रहेको उक्त प्रहरी चौकीमा निरन्तर बर्षातका कारण डुबानमा परेपछि स्थानान्तरण गरिएको प्रवक्ता हमालले जानकारी दिए ।
‘निरन्तर बर्षातले प्रहरी चौकीको तल्लो तला नै डुबानमा परेको छ । क्षति धेरै हुने र काम गर्न कठिनाइ हुने देखिएकाले अहिले सबै सामान माथिल्लो तलामा सारेका छौं,’ उनले भने । चौकी नै डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी जवानहरु बाहिर निस्केर बस्न बाध्य छन् ।