मकवानपुर प्रहरीद्वारा ५ किलो अफिम बरामद, दुई जना फरार

image
आइतबार​, आषाढ २८ २०७७

असार , २८ मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मोटरसाइकलसहित लागूऔषध अफिम ५ किलो बरामद गरेको छ । मोटरसाइकल चालक र पछाडि बस्ने व्यक्ति भने फरार रहेका छन् ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ मा सवारी चेकिङका लागि इलाका प्रहरी कार्यालय, नेवारपानीबाट खटिएको प्रहरी टोलीलाई परैबाट देखेपछि मकवानपुरको मनहरी तर्फबाट आइरहेको ना.४३ प ५७८४ नम्बरको मोटरसाइकलसहित आफूसँग भएको झोला छाडेर २ जना जङलतर्फ फरार भएका छन् ।

 

प्रहरीलाई देखेर भागेपछि शंका लागेर झोला खोलेर हेर्दा ५ पोका कालो पदार्थको भेटिएको थियो । प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा उक्त कालो पदार्थ अफिम पुष्टि भएको प्रहरीले जनाएको छ ।

गत असार १७ गते विहान करिब साढे ४ बजेतिर अफिम बरामद गरिएको भएपनि बरामद गरिएको वस्तुलाई काठमाडौ प्रयोगशालाबाट परीक्षण भएर पुष्टि भएपछि आज मात्रै सार्वजनिक गरिएको प्रहरीको भनाइ रहेको छ ।

मोटरसाइकल चालक र पछाडि सवार एक व्यक्तिको खोजी कार्य शुरु गरिसकेको र चाँडै नै पक्राऊ पर्ने मकवानपुर प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम १५ बर्षसम्म कैद र २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ ।