साउन, ३ रूपन्देही। रुपन्देहीको देवदहस्थित बुटवल खैरेनी सडकखन्ड अन्तर्गत भलुहीदेखि १ किलोमिटर पुर्व जंगल क्षेत्रमा शनिबार बिहान ६ बजे कार र मिनि ट्रक एक आपसमा ठोक्किएका छन् । साे क्रममा कार चालकसहित ६ जना घाइते भएका छन् ।
वीरगन्जबाट बुटवलतर्फ आउँदै गरेको ना ७ ख ४९४७ नम्बरको आईचर ट्रक र बैतडीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १७ च २२१७ नम्बरको कार एक-आपसमा ठोक्किँदा कार चालक डम्बरसिँह बिस्टसहित अन्य ६ जना घाइते भएका छन् ।
घाइतेहरुको उपचारका लागि देवदहस्थिति देवदह मेडिकल कलेजमा लगिएको प्रहरी चौकी खैरेनीका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिए ।
तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । घाइतेहरु कारमा सवार ५ जना र ट्रकमा सवार ट्रक चालक एकजना गरी ६ जना रहेकाेमा उनीहरू सबै खतरामुक्त नै रहेको देवदह मेडिकल कलेजले जनाएको छ ।