पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ । विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान नसकेको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।
अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन् । उद्धार तथा बेपत्ताको खोजीकार्यका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने जनपथ प्रहरी १५ जना र सशस्त्र प्रहरी १५ जना घटनास्थलतर्फ लागेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थलतर्फ लागेका छन् । – रासस