असार,३० बारा । जग्गा खरिद-बिक्रीमा ठगी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई तीन महिनापछि बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी वर्ष ३५ का अशोक तिवारी रहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनलाई असार २८ गते पक्राउ गरेको थियो ।
कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी शशिकान्त यादवले जिल्ला प्रहरी कार्यालय बारामा तिवारी र अर्का कलैया उपमहानगरपालिका २७ बस्ने घनश्याम पाण्डेयविरूद्ध ठगी मुद्दा दर्ता भएकाे थियाे । जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पश्चात उनीहरू फरार रहेका थिए ।
फरार रहेका ती दुई जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाराको नाममा आदेश भएपछि प्रहरीले ती दुईलाई विगत ३ महिनादेखि खोजी कार्य गरिरहेको प्रवक्ता मिश्रले बताए । तिवारी पक्राउ परे पनि पाण्डेय भने फरार नै रहेको उनकाे भनाइ छ ।
पक्राउ परेका तिवारीलाई जिल्ला अदालतबाट ३ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । राजनीतिक संरक्षणका कारण तिवारी जिल्लाको सदरमुकाम लगायत अन्य ठाँउमा घुमफिर गरिरहेका थिए ।
‘पाप धुरीबाट कराउछ’ भन्ने कुरा ढिलै भए पनि साबित भएको र राजनीतिक संरक्षणले कानुन तथा प्रहरी प्रशासनलाई केही समयका लागि गुमराहमा राख्न सके पनि लामो समयसम्म नटिक्ने तिवारीको पक्राउले साबित गरिदिएको पीडित यादवले बताए ।