आफ्नै भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ परे

image
आइतबार​, श्रावण ४ २०७७

साउन, ४ काठमाडौं । भान्जाको अपहरणपछि हत्या गर्ने एक पुरुषलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । आफ्नै ११ वर्षीय भान्जाको हत्या गरी फरार रहेका ४५ वर्षीय राजेश कुमार गुप्तालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सर्लाहीबाट पक्राउ गरेको हो । भारतको बिहार स्थायी घर भइ हाल काठमाडौं खिचाँपोखरी बस्ने वासुदेव गुप्ताका ११ वर्षीय छोरा रोहित गुप्ताको २०६४ असोज २४ गते अपहरणपछि हत्या भएको थियो ।अपहरणपछि दुई लाख फिरौति रकम समेत मागिएको थियो । फिरौति रकम बुझाउन राजेश नै गएका थिए । उनले अपरिचित व्यक्तिहरु आएर रकम लगेको बताएका थिए । शुरुमा अपराधीको खोजतलासी गर्न समेत सघाएका राजेश केही समयपछि भने फरार भएका थिए ।

अनुसन्धानका क्रममा राजेश र उनकै पसलमा काम गर्ने विष्णु सुनारले बालकको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । विष्णु सुनार २०६४ कार्तिक १२ गते नै पक्राउ परेको र हाल उनी कारागारमा रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका राजेशको कारबाही प्रकृया अघि बढाइएको अपराध महाशाखाले जनाएको छ ।