साउन,२ नेपालगन्ज । निजी विद्यालयको छाता संगठनहरुले नेपालगन्ज उपमहानगरपालिकासंग विद्यालय संचालनको लागि व्यवस्था मिलाउन अनुरोध गरेको छ । निजी विद्यालयको छाता संगठनहरुको तर्फबाट शुक्रवार नेपाल सरकारका विभिन्न निकायहरुसंग विद्यालय सञ्चालन गर्न माग गरेको हो ।
बाँके जिल्लामा कोरोना भाइरसको कहर न्युन रहेको भन्दै संगठनले सामाजिक दुरी तथा स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य व्यवस्था पुरा गरि सञ्चालन गर्न उनीहरुले माग गरेका हुन् । विभिन्न निकायहरु समक्ष पटक पटक गरिएको आग्रहका बाबजुद कुनै निष्कर्ष प्राप्त नहुँदा विद्यालयहरुका दायित्वहरु पुरा गरी आफ्ना गतिविधिहरु संचालन गर्न आर्थिक तथा नैतिक दृष्टिकोणले दिनानुदिन अप्थ्यारो पर्दै गएको कारण निजी विद्यालयहरु संचालन गर्न निजी विद्यालयका संगठनहरुले उपमहानगरपालिकासंग अनुरोध गरेका हुन् ।
लकडाउनका समयमा शिक्षण सिकाईको बैकल्पिक विधिहरु अर्को सुचना प्राप्त नभएसम्म बन्द रहने निर्देशन संगठनका तर्फबाट प्राप्त भएकोले सोही अनुसार उपमहानगरपालिका भित्र संचालित निजी विद्यालयहरुका सवै गतिविधि बन्द रहेको व्यवहोरा समेत जानकारी उनिहरुले उपमहानगरपालिकालाई गराएका छन् । शुक्रवार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्सेर राणालाई प्याव्सन नगरपालिका कमिटिका अध्यक्ष विकास बज्राचार्य र नेश्नल प्याव्सन नगरपालिका कमिटिका अध्यक्ष राजिवराज पौडेलले सयुक्त रुपमा ७ बुदे ध्यानाकर्षण सम्बन्धि अनुरोध पत्र बुझाएका छन् ।
अनुरोध पत्रमा भनिएको छ, ”कोभिड १९ का कारणले तहस नहस भएका विद्यार्थीहरुको पठनपाठनलाई सूचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्यनरत विद्यार्थीहरुको अभिलेखिकरण गरि पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्न वातावरण यथाशिघ्र निर्माण गरियोस्, अनलाइन कक्षा र भर्चुअल कक्षाहरु बैकल्पिक शिक्षण पद्धतिमात्रा भएको र नेपाली समाजमा अहिले नै यो पद्धति पहँुचमा सबै विद्यार्थीहरुको हुन नसक्ने यर्थाथलाई मध्यनजर गर्दै यस पालिकाभित्र कोरोनाको प्रभावको समेत अध्ययन गरि यथासम्भव विद्यालयहरुमा आवश्यक पुर्वाधार व्यवस्थापन सहित जोर विजोर वा आलोपालो प्रर्णालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्न व्यवस्था गरियोस्, क्वारेन्टाइनका लागि विद्यालयहरुको प्रयोग भएका भए अर्को स्थानमा स्थानान्तरण गरि निर्मलिकरणको व्यवस्था गरियोस्, बर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०÷१९२ दिन पठन पाठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु जाडो विदा लगायत अन्य विदा कटौति गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरियोस्, शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धताका आधारमा १ महिनाको मासिक पढाई शुल्क छुट गरि अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गरियोस्, निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता पठाउन नसकेको र २०७७ सालमा कुनै पनि शिर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा हाम्रा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नसकिएको हुँदा हाम्रा शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरियोस् र घर जग्गा वहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गरियोस् भनि ध्यानाकर्षण पत्र बुझाईएको छ ।”