भारतको बजहा बाँधले कपिलवस्तुको दक्षिणी क्षेत्रमा तवाह, ३ सय हेक्टर बढी धान खेती डुबानमा

image
शुक्रबार​, श्रावण ९ २०७७

साउन , ९ कपिलवस्तु । भारतले नेपालको सीमामा लगाएको बाँधका कारण कपिलवस्तुको दक्षिणी क्षेत्र डुबानमा परेको छ । जसको कारण सयौं हेक्टरमा लगाएको धानबाली नष्ट हुने अवस्थामा पुगेको छ ।

भारतीय बाँधका कारण कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ का तुल्सीडिहवा, गौरा र सिसहनिया गाउँमा किसानले लगाएको धान खेत डुबानमा परेको छ ।

 

त्यस्तै यशोधरा गाउँपालिका वडा नम्बर १, रजवापुर, वडा नम्बर ६ पुन्नीहवा र पकडी गाउँको धान खेत पनि डुबानमा परेका छन् । पानीमा डुबेको कारण धान पहेलिएको छ ।

सय हेक्टर जति खेत डुबानमा पर्दा बाँकी धान रोप्न नपाएको मायादेवी गाउँपालिका ४ तुल्सीहिडवाका कृषक जीतबहादुर यादवको गुनासो छ ।

 

भारतले सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थाना अन्तर्गत बजहामा बाँध बनाएकोको कारण कपिलवस्तुका खेतीयोग्य उर्वर भूमि हरेक बर्ष वर्षामा डुबानमा पर्दै आएको छ । कपिलव नाम दिइएको उक्त बाँधको क्षेत्रफल अति ठूलो छ ।

हजार बढी विगाहमा रहेको बाँधले ओगटेको क्षेत्र आधा नेपाल र आधा भारतमा पर्छ । त्यही पानी जम्मा गरेर भारतले सिंचाई गर्दै आएको छ । विषेश गरी हिउँद यामलाई लक्षित गरेर भारतले पानी जम्मा गर्दै आएको छ ।

 

बाँधको कारण एउटा सीमा स्तम्भ पनि डुबेको छ । भारतले २० र ८ ढोके पक्की बाँध बनाएको छ । आवतजावत गर्ने बाटो भन्दै बाँध हरेक बर्ष उच्च बनाउँदै जाँदा नेपाली क्षेत्र नराम्ररी डुबानमा पर्न थालेको मायादेवी गाउँपालिका ४ सिसहनीयाका कृषक बीरेन्द्र शुक्लको गुनासो छ ।

बाँधबाट ३ सय बढी कृषक प्रभावित हुदै आएका छन् । बाँधको उचाई बढदै जादा नेपालतिर पानी बढी जम्मा हुने गरेपनि नेपालकोतर्फबाट कुनै विरोध नजनाइदा भारतको हेपाहा प्रवृति बढ्दो छ ।

हरेक बर्ष नेपाली भूभाग डुबानमा पर्दै आए पनि स्थानीय , प्रदेश र संघीय सरकारले कुनै प्रभावकारी कार्यक्रम चाल्न नसक्दा आफूहरु हरेक बर्ष मारमा पर्ने गरेको गुनासो पनि स्थानीय कृषकको छ ।