खेलाडी हत्याको ९ वर्षसम्म न्याय खोज्दै , जसको पीडा परिवारजनका लागि अझै ताजै

image
बुधबार, आषाढ २४ २०७७

असार, २४ रौतहट । ९ वर्षअघि रौतहट सदरमुकाम गौरमा भएको एउटा हत्याकाण्ड, जसको पीडा परिवारजनका लागि अझै ताजै छ। यो घटनामा संलग्नको अझै पत्ता लागेको छैन भने पीडित परिवारले सरकारले दिने भनेको राहत पनि पाएको छैन ।

२०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडमा कुस्ती खेलाडी प्रेमपुर गोनाही– १ का ५० वर्षीय उपेन्द्र दास बैरागी (यादव) को गोली हानी हत्या गरिएको थियो । राति सवा आठ बजे लोडसेडिङको मौका छोपेर उनीमाथि नचिनेका मानिसहरुले गोली हानेका थिए । बैरागीको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती खेलमा कास्यपदक जिताएका बैरागीलाई सरकारले गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मान गरेको थियो । बैरागीले पाएका ती पदक र प्रशंसापत्रहरु अझै पनि परिवारजनले सुरक्षित राखेका छन् । यी सामग्री श्रीमती रामकुमारी देवी र दुई छोरालाई अभिभावक सम्झाउने र घटना ताजा बनाइराख्ने प्रमाण बनेका छन् ।

खेलाडीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै त्यतिबेला रुपन्देहीमा धेरै प्रदर्शन पनि भए । मृतकलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति दिने भनेर सरकारले प्रतिवद्धता जनाए पनि ९ वर्षसम्म पाउन सकेको छैनन् ।

हत्याको आरोपमा गोनाही ४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ परेका थिए तर उनीहरुको संलग्नता नदेखिएको भन्दै प्रहरीले रिहा गरेको थियो । प्रहरीले घटनाको राम्ररी अनुसन्धान नगर्दा हत्याराहरु पक्राउ नपरेको परिवारजनको आरोप छ ।

‘घरमूली गुमाएको ९ वर्ष भयो, हामी बेसहरा छौं । न हत्यारा पत्ता लगाएर कारबाही गर्‍यो, शहीद घोषणा र राहत समेत पाएको छैन’ पत्नी रामकुमारीले भनिन् ।

खेलाडीलाई देशको गहना भने पनि खेलाडीका परिवार अन्यायमा परेको वर्षौ बितिसक्दा राज्यले केही गर्न नसकेको उनले बताइन् । दुर्घटनामा मृत्यु भएका व्यक्तिसमेत पहुँचकै आधारमा सजिलै शहीद घोषणा हुने तर देशको लागि जीवन बिताउने खेलाडीलाई भने अझै शहीद घोषणा नगरिएको र परिवारलाई राहतको व्यवस्था हुन नसकेको रामकुमारी बताउँछिन् ।

युवा तथा खेलकुद मन्त्रालयले ९ वैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागि १० लाख रुपैयाँ दिन अर्थ मन्त्रालयको सहमति माग गरेको थियो । तर त्यसपछि यो काम अघि बढेन ।