भदौ १६ गतेदेखि मकवानपुरमा निषेधाज्ञा हट्ने, विहान १० बजेसम्म कस्ता कस्ता बजार खुल्ने ?

image
सोमबार, भाद्र १५ २०७७

भदौ,१५ हेटौंडा । साउन २६ गतेदेखि सुरु भएको मकवानपुरको चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हटाइएको छ । निषेधाज्ञा हटाए पनि सोमबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार विहान ५ देखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र पनि खुला हुनेछ।

शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्स बार, पुस्तकालय, सपिङ मल, स्पा सैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, जिमखाना, रिक्सा, साइकल ठेलागाडामा गर्ने व्यवसाय र कवाडी संकलन भने बन्द गरिएको छ । यीबाहेक अन्य व्यवसाय विहान ५ देखि १० बजेसम्म खुला हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

  उनले भने ,‘संक्रमणको जोखिम उस्तै छ तैपनि सबैको धारणा सहज बनाऔं भन्ने आयो त्यसैले बिहान १० बजेसम्म सबै व्यवसाय खोल्ने र दिनभर बन्द गर्ने तयारी गरेका छौं’।

अब मकवानपुरमा उद्योगहरु पनि सञ्चालन गर्न पाइनेछ । उद्योग सञ्चालन गर्दा सम्भव भएसम्म उद्योग परिसरभित्रै कर्मचारी तथा श्रमिक राख्ने व्यवस्था मिलाउने र उद्योग परिसरभित्र राख्न सम्भव नभए विहान ६ बजेभित्र उद्योग परिसर प्रवेश गर्नुपर्ने र साँझ ६ बजेपछि बाहिर निस्कन पाउने व्यवस्था गरिएको छ ।उद्योगका कामदार र कर्मचारी घर फर्केपछि समुदायमा घुलमिल नहुने र बाहिरी जिल्लाबाट कामदार ल्याउन नपाइने निर्णय पनि बैठकले गरेको छ ।

हेटौंडा बजार क्षेत्रभित्र हुने लोड अनलोडको काम साँझ ७ देखि विहान ५ बजेसम्म गर्ने, कृषि र पशुपन्छी व्यवसायको उत्पादनदेखि बिक्री वितरणसम्मका सबै श्रृङ्खला खुला गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोरोना संक्रमण फैलिएपछि हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्र, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा हटाए पनि अत्यावश्यकबाहेकका यातायात बन्द हुनेछन् ।निषेधाज्ञा हटेसंगै हेटौंडा बजार क्षेत्रमा परिचालन गरिएको नेपाली सेना  भने व्यारेकमा फर्कने छन् ।