अनमोलले ‘पारस’को काम सुरु गर्ने योजना बनाए

image
आइतबार​, भाद्र १४ २०७७

नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन ।चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन। चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी लकडाउन भएपछि घरमै छन् । उनले लकडाउन खुकुलो भएपछि केही चर्चित कम्पनीका विज्ञापनमा काम गरे ।

नायक अनमोल केसी अहिले आफ्नो नयाँ चलचित्र ‘पारस’को स्क्रिप्टमा ध्यान दिइरहेका छन् । माधव वाग्लेले निर्देशन गर्ने यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्दैछ ।अनमोलका अनुसार, चलचित्रको स्क्रिप्टलाई अझै बलियो बनाउन सकिन्छ कि भनेर काम भैरहेको छ । उनी, यो चलचित्रमा काम गर्नका लागि उत्साहित पनि छन् ।

अनमोल अहिले दैनिक स्क्रिप्ट लेखकसँग घरमै नयाँ केही गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन् । चलचित्रको कथा बलियो बनाएको खण्डमा जस्तो अवस्थामा पनि दर्शकले मन पराउने विश्वास उनको छ ।चलचित्रको कथावस्तु बलियो भएकै कारण निर्माता भूवन केसीले निर्देशक माधव वाग्लेसँग सहकार्य गरेका हुन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकिएपछि अनमोलले ‘पारस’को काम सुरु गर्ने योजना बनाएका छन् ।