१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा १२ हजार ७ सय ७० जनाको नमूना परिक्षण गर्दा १२ सय २१ जनामा कोरोना पोजेटिभ पाइएको बताए । आज संक्रमित हुनेमध्येमा महिलाको संख्या ३ सय ४८ छ भने पुरुषको संख्या ८ सय ७३ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
यो संख्या अहिलेसम्मकै सर्वाधिक बढी हो ।
त्यस्तै काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै बढी संक्रमित भेटिएका छन् । वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ संक्रमित फेला परेका प्रवक्ता गौतमले बताए । संक्रमित मध्ये काठमाडौं जिल्लाका ३७२ जना ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जना रहेका छन् ।
यो संख्या काठमाडौं उपत्यकामा देखिएको दैनिक वृद्धि संख्यामा उच्च हो । यसअगाडी भदौ १२ गते काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसको अघिल्लो दिन अर्थात भदौ ११ गते संक्रमितको संख्या ३७७ भएको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।
मृत्युमा पनि नयाँ रेकर्ड
गत २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ । आज ४ महिला र १० पुरुष गरी १४ जनाले ज्यान गुमाएका छन् । यसअगाडी गत शुक्रवार १२ जनाले ज्यान गुमाएका थिए ।योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ ।