‘थर्मल गनमा तापक्रम कति देखिएको छ ?’ संक्रमित युवकको प्रश्नमा उनी भन्छन्......

image
आइतबार​, भाद्र ७ २०७७

भदौ,७ जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ , आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् ।केहीको ज्वरो नाप्छन् पनि उनी । तर, एक जनाले उनलाई चिन्छन् । उनी कुनै चिकित्सक अथवा स्वास्थ्यकर्मी नभई सरसफाइ गर्ने एक जना कर्मचारी रहेछन् ।

‘तपाईं त सरसफाइ गर्ने कर्मचारी होइन ?’ एक जना कोरोना संक्रमितले राखेको जिज्ञासामा उनले ‘हो’ भन्छन् ।

‘थर्मल गनमा तापक्रम कति देखिएको छ ?’ संक्रमित युवकको प्रश्नमा उनी भन्छन्– मलाई के थाहा ?’

‘अनि कसरी आउनुभयो ज्वरो नाप्न ?

‘डाक्टरले पठाएपछि आएको हुँ’ ती सरसफाइ कर्मचारीले भने ।

यो दृश्य र संवाद धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनको हो । कोरोना संक्रमितको उपचार गर्न बनाइएको यो आइसोलेसनमा चिकित्सक वा स्वास्थ्यकर्मी आउँदै, आउँदैनन् । यहाँ थर्मल गन बोकाएर सरसफाई कर्मचारीलाई नै तापक्रम जाँच्न पठाइँदोरहेछ ।यसअघि पनि यहीँ स्वास्थ्यकर्मी भनेर एक व्यक्तिलाई तापक्रम नाप्न पठाइने गरेको आइसोलेसनमा बसेकाहरु बताउँछन् ।

जनकपुरधामका एक जना सञ्चारकर्मी संक्रमित भएर यहाँ पुगेपछि यस्तो भेद खुलेको हो । ती सञ्चारकर्मीले सरसफाई कर्मचारीलाई चिनेका रहेछन् । शनिबार उनी थर्मल गन लिएर जाने वित्तिकै सञ्चारकर्मीले उनलाई चिनेपछि स्वास्थ्यकर्मीका भेषमा उनलाई नै अधिकांस दिन पठाइने गरेको यसअघि आइसोलेसनमा बस्दै आएकाहरुले बताए ।आइसोलेसन संयोजक सन्तोष ठाकुरका अनुसार शनिबार यहाँ डा. दीपु यादवको ड्यूटी रहेको बताए । यद्यपि आफू तत्काल बाहिर रहेकाले त्यहाँ गएपछि यथार्थ कुरा थाहा हुने उनले बताए ।